अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 18:42

अमेरिकी राष्ट्रपति चुनाव : सर्वेक्षणमा कमला अघि

बिआरटीनेपाल २०८१ कार्तिक १८ गते १९:५९ मा प्रकाशित

अमेरिकी राष्ट्रपतीय चुनावको पछिल्लो सर्वेक्षणअनुसार कमला ह्यारिसले अग्रता कायम राख्नुभएको छ । बीबीसीले नयाँ तथ्याङ्कलाई उद्धृत गर्दै कमला ह्यारिस अर्का उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा एक प्रतिशतले अघि रहनुभएको जनाएको छ ।

सर्वेक्षणमा कमलाको पक्षमा ४८ र ट्रम्पको पक्षमा ४७ प्रतिशत मत देखिएको छ । यस्ता सर्वेक्षणहरू देशभरी कुन उम्मेदवार कति लोकप्रिय छन् भनेर जान्ने राम्रो तरिका भए पनि चुनावी नतिजाको भविष्यवाणीका लागि यो पर्याप्त नहुने बीबीसीले जनाएको छ ।

विश्वशक्ति अमेरिकाको राष्ट्रपति चुनावले अहिले विश्वकै ध्यानकेन्द्रित गरेको छ । नोभेम्बर ५ मा हुने चुनावले अमेरिकाको ४७ औँ राष्ट्रपति निर्वाचित गर्नेछ । राष्ट्रपतिका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार हुनुहुन्छ ।

सन् १७७६ मा स्वतन्त्र भए यताको झण्डै साढे दुई सय वर्षको अमेरिकी इतिहासमा ४६ जना पुरुषहरूले शासन गरेका छन् । यसपाली अमेरिकाले महिला राष्ट्रपती पाउने सम्भावना भए पनि प्रतिस्पर्धा निकै कडा रहेको सर्वेक्षणहरुले देखाएका छन् ।

अमेरिकामा कुल ५ सय ३८ इलेक्टोरल कलेज भोट छन् । जसमध्ये कुनै पनि उम्मेदवारलाई जित्न २ सय ७० मत चाहिन्छ । अमेरिकामा ५० वटा राज्य छन् । तर तीमध्ये धेरैजसोले सधैँ एउटै पार्टीको पक्षमा मतदान गर्छन् । दुवै उम्मेदवारले जित्ने सम्भावना थोरै राज्यहरू मात्र छन् । यिनैबाट उम्मेदवारको जीत वा पराजय तय हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू