अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 07:46

कोलोराडोमा देउसी भैलो कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०८१ कार्तिक १८ गते १५:१८ मा प्रकाशित

कोलोराडो । अरोरा तथा सेन्टेनियलबासी नेपाली समाजको आयोजनामा गत शुक्रबार अरोरामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । नेपाली साँस्कृतिक केन्द्रको सहयोगार्थ सम्पन्न देउसी भैलो कार्यक्रमबाट झन्डै ८ हजार ३ सय ५० डलर सङ्कलन भएको छ । सङ्कलित रकम कार्यक्रमको अन्तमा संयोजक कुमारजङ कार्कीले नेपाली घरका उपाध्यक्ष गङ्गा चौलागाइलाई हस्तान्तरण गरेका थिए ।

कुमार जङ्ग कार्कीको संयोजनमा सम्पन्न देउसी भैलो कार्यक्रमको समाजसेवी रामप्रसाद श्रेष्ठद्वारा पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । संयोजक कार्किले उपस्थित सबैलाई स्वागत गरेका थिए भने नेपाली घरका उपाध्यक्ष गङ्गा चौलागाइले कार्यक्रमको उद्धेश्य र महत्वबारे प्रकाश पारेका थिए । एनआरएन बोर्ड अफ डाइरेक्टर नवराज न्यौपानेले समारोहमा उपस्थित लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा पण्डित विहङ्गमराज तिमिल्सिनाको पनि उपस्थिति थियो, पण्डित तिम्ल्सिनालाई जगदीश बरालले सम्मान पत्र प्रदान प्रदान गरेका थिए ।
LIVE VIDEO CLICK HERE

कार्यक्रममा नेपाली भाषा पाठशालाका करिब १९ जना छात्रछात्राहरूले नेपाली राष्ट्रिय गान गएका थिए । मनोजराज सिवाकोटी र योगराज गौतमको टिमले देउसी भट्ट्याएको थियो भने सविना प्रधानको टिमले भैलिनी गाएका थिए । उत्तरा श्रेष्ठ, दीपक गौतम, किरण अधिकारी तथा श्याम घिमिरेले कार्यक्रममा गीत गाएका थिए भने एरिना अधिकारी, ओजस्वी पल, निशान्त खड्काले सुन्दर नृत्य प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सहभागी कलाकारहरुलाई नेपाली घरको तर्फबाट प्रमाण पत्र विभिन्न समाजसेवीहरूबाट प्रदान गरिएको थियो । त्यसरी प्रमाण पत्र प्रदान गर्नेहरूमा पदम विश्वकर्मा, योगराज गौतम, जगदीशचन्द्र ढकाल, दिनेश थापा, जगदीश बराल, कुमारजङ कार्की आदी थिए ।

कार्यक्रममा कास्टल इन्डिया कुजिन, याक एन्ड यती, कोनर्क ग्रोसरीले खाना प्रदान गरेको थियो भने वेलकम इभेन्टले कार्यक्रममा डेकोरेसन गरेको थियो ।
फोटो: शैलेन्द्र श्रेष्ठ तथा शैलेश पोखरेल

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय