अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 18:25

आजदेखि नेपाल संवत् ११४५ प्रारम्भ

बिआरटीनेपाल २०८१ कार्तिक १६ गते २०:११ मा प्रकाशित

आजबाट नेपाल संवत् ११४५ प्रारम्भ भएको छ । शनिबारदेखि नेपाल संवत् ११४४ पूरा भई ११४५ लागेको हो । नेपाल संवतअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष मनाइन्छ ।

नेपाल संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो ।

गरिब जनताको ऋण मोचन गरी नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा नेपाल संवतको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो । यसैगरि २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाएको घोषणा गर्नुभएको थियो ।

पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो र लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको उहाँले बताउनुभयो । उहाँले नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् भएको बताउनुभयो ।

नेपाल संवत् नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेको स्थानमा मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू