अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 09:00

टाइगर नामको कुकुरले पायो ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधि

बिआरटीनेपाल २०८१ कार्तिक १५ गते ९:५१ मा प्रकाशित

नेपाल प्रहरीले यस वर्ष ‘टाइगर’ नामको कुकुरलाई ‘उत्कृष्ट प्रहरी कुकुर’ को उपाधिबाट सम्मानित गरेको छ ।

कुकुरको पूजा गरेर मनाइने कुकुरतिहारका दिन पारेर आज ‘टाइगर’लाई सम्मान दिइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी केनाइन कार्यालयका अनुसार सिन्धुपाल्चोक र नुवाकोटमा दुई महिलाको हत्या भएका घटनाको अनुसन्धान गर्न यो कुकुरले सघाएको थियो ।

हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषधिको पहिचान र प्राकृतिक विपद्का घटनामा उद्धार तथा खोजी कार्यमा नेपाल प्रहरीले तालिमप्राप्त कुकुर प्रयोग गर्दै आएको छ । अहिले नेपाल प्रहरीले देशभरिका १२ ठाउँबाट विभिन्न प्रजातिका १०० वटा कुकुरलाई अपराध अनुसन्धानमा परिचालन गर्दै आएको छ ।

यसैबीच नेपाल प्रहरीले काठमाण्डौको सामाखुशीमा रहेको कुकुर तालिम केन्द्रमा कुकुरलाई अबिर, माला खानेकुरा दिएर कुकुर तिहार मनाएको छ । त्यसअवसरमा कुकुरहरूको कला पनि प्रदर्शन गरिएको थियो ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू