अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 22:24

प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन देशी, विदेशी प्रतिक्रियावादीहरु अभियानमा छन् : सञ्चारमन्त्री गुरुङ

बिआरटीनेपाल २०८१ कार्तिक १५ गते ९:२१ मा प्रकाशित
देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति ओली भएपनि उहाँलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको सञ्चारमन्त्री गुरुङको जिकिर थियो ।

बिहीबार काठमाडौंमा नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले ओलीलाई एक्ल्याउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न पनि एमाले, नेता कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने बताउनुभयो ।

एमाले उपमहासचिव समेत रहनुभएका सञ्चामन्त्री गुरुङले पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्रहुँदा पनि पार्टी पंक्ति त्यसको पक्षमा नभिएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री गुरुङले सरकारले देश र जनताको हितमा धेरै काम गरेको दाबी समेत गर्नुभयो । सरकारले आफनो सय दिनको कार्यकालमा मुलुक र जनताको अहितमा एउटा पनि काम नगरेको उहाँले दाबी गर्नुभयो । सञ्चारमन्त्री गुरुङले नयाँ भनिएका पार्टीहरुले ठूलो पार्टीहरुले केही पनि गरेनन भनेर गलत भाष्य सृजना गर्न खोजेको उल्लेख गर्दै त्यसका विरुद्ध वैचारिक संघर्ष गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

सञ्चारमन्त्री गुरुङले एमाले मुख्यालय निर्माणमा लागि व्यवसायी मिनबहादुर गुरुङले दिएको दानको विषयलाई पनि अनावश्यक ढंगले उचालेर एमालेलाई कमजोर बनाउने काम भईरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू