अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 08:56

साफ सकिए लगत्तै साम्बा फ्रान्स प्रस्थान

बिआरटीनेपाल २०८१ कार्तिक १४ गते २१:३५ मा प्रकाशित

साफ वुमन्स च्याम्पियनसिप २०२४ सकिएलगत्तै नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स फर्किनुभएको छ । बुधबार राति साफको फाइनल खेलेकी सावित्रा बिहीबार बिहानै व्यावसायिक फुटबल खेल्ने फ्रान्स जानुभएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै छैटौंपटक उपविजेता बनेको थियो ।

फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिप खेल्ने नेपाल आउनुभएको थियो । उहाँले समूह चरणमा एक खेल मात्र खेल्नुभयो भने सेमिफाइनल र फाइनल गरी कुल तीन खेल खेल्नुभयो जसमा उहाको तर्फबाट दुई गोल भयो । भुटानविरुद्ध पहिलो खेल फिफा विन्डोमा नरहेकोले क्लबले साम्वालाई ढिला रिलिज गरेको थियो । अक्टोबर २० मा नेपाल आइपुगेर भोलिपल्ट माल्दिभ्सविरुद्धको खेलका लागि उपलब्ध भएपनि उहाँले खेल्नुभएन ।

प्रशिक्षक राजेन्द्र तामाङले आवश्यक परेमा प्रयोग गर्ने बताए पनि सावित्राले खेल्नुपरेन । माल्दिभ्सविरुद्ध नेपाल ११–० को फराकिलो अन्तरले विजयी भएको थियो । सेमिफाइनलमा भारतविरुद्ध एक गोलले पछि परेको स्थितिमा सावित्राले बराबरी गोल फर्काउँदै खेललाई पेनाल्टीसुटआउटसम्म पुर्‍याउनुभएको थियो । उहाँले सुटआउटमा गोल पनि गर्नुभयो । नेपालले पेनाल्टीसुटआउटमा भारतलाई ४-२ ले हराएर फाइनल पुगेको थियो ।

तर, लगातार दोस्रोपटक बंगलादेशसँग फाइनलमा पराजित हुँदा पहिलोपटक साफ जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन । उता सावित्राले भने लगत्तै क्लबमा सामेल हुने बताइएको छ। उहाँको क्लब गुएग्याम्पले आउने शशनिवार लिगमा मोन्टपिलरसँग खेल्दैछ । नेपाल आउनुअघि स्ट्रासवर्गलाई हराउँदै गुएग्याम्पले लिगमा पहिलो जित हात पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू