अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

साफ उपविजेता बनेको नेपाली महिला टोलीलाई काठमाण्डौ महानगरद्वारा राति नै नगदसहित सम्मान

बिआरटीनेपाल २०८१ कार्तिक १४ गते २१:०४ मा प्रकाशित

साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला टोलीलाई काठमाण्डौ महानगरपालिकाले गए राति नै नगद पुरस्कारसहित सम्मान गरेको छ । महानगरले टोलीका हरेक खेलाडीलाई जनही एक लाख रुपैयाँ, प्रशिक्षक, टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी कूल २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको हो ।खेलाडीलाई उनीहरु बसेको होटल सोल्टीमै पुगेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलले नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गर्नुभयो । राति खेल सकेर होटल पुग्नासाथ खेलाडी महानगरको सम्मानमा सामेल भएका थिए । सम्मान कार्यक्रममा बालेनले फाइनल खेल दशरथ रङ्गशालामै आएर हेर्दा नर्मस भइने डरले आफुले घरमै बसेर हेरेको पनि बताउनुभएको छ ।

महानगरले दर्शकको चापलाई ध्यानमा राखेर बुधवार साँझ काठमाण्डौको टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरणको मैदानमा एलइडी स्क्रिनबाट महिला फाइलन खेलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर दिएको थियो ।‘फाइनलमा हामी बङ्गलादेशभन्दा कम थिएनौँ एउटै कर्नरको गोलले पछि परिएको हो । हारले जित्न सिकाउँछ । हामी सबै नेपालीलाई तपाईहरुले खुशी दिनुभएको छ । त्यो नै जित हो,’ बालेनले भन्नुभयो । उपप्रमुख डंगोलले हरेक हारले जित्न सिकाउने भन्दै खेलाडीलाई अर्को पटक जित्न शुभकामना दिनुभयो । जसअनुसार टुँडिखेलमा २० हजार, हाँडीगाउँमा पाँच हजार र चाबहिलमा सात हजार दर्शकले फाइनल खेल हेरेको पनि महानगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू