अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 09:12

देश डुबेको थाहा पाउन सिंहदरबार वैद्यखाना हेरे पुग्छ: मेयर शाह

बिआरटीनेपाल २०८१ कार्तिक १४ गते ४:४९ मा प्रकाशित

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौँ महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गर्नुभएको छ । बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा उहाँले सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताउनुभयो। मेयर साहले देश किन डुब्यो भनेर थाहा पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने टिप्पणी गर्नुभयो ।

शाहले भन्नुभयो, ‘अहिलेका साना विद्यार्थी, बाबुनानीहरू तथा अध्ययन गर्ने अभियन्ताहरू सबैले यो देश किन डुबेको भनेर हेर्न मन छ भने सिंहदरबार वैद्यखाना आएर हेरे हुन्छ। ठ्याक्कै थाहा हुन्छ, यो देश के कारणले डुब्छ? यो देशमा के समस्या छ ? देशमा उत्पादन गर्ने विभिन्न सरकारी उद्योगहरू, सरकारले चलाएका विभिन्न उद्योगहरू कसरी डुब्छन् भन्नेकुरा ठ्याक्कै थाहा हुन्छ। उहाँले ९० प्रतिशत सरकारी उद्योगहरू लिजमा दिएर बेचिने गरेको बताउनुभयो। ‘यो सरकारले हाम्रो ९० प्रतिशत सरकारी निकाय कि त लिजमा दिइन्छ, लिजमा दिएर बेचिन्छ, लिजमा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ, ‘शाहको भनाई छ ।

सिंहदरबार वैद्यखानामा सरकारले ५० करोड बजेट छुट्याए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद भएको शाहले बताउनुभयो। उहाँले भन्नुभयो, ‘५८र५९ सालमा यहाँको बजेट ५ करोड थियो अहिले १ करोड छ। यहाँको बजेट ५० करोड पनि कम हुन्छ।’ सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने उहाँले बताउनुभयो। शाहले भन्नुभयो, ‘आयुर्वेदिक उपचार भनेको हाम्रो संस्कार हो, हाम्रो संस्कृति हो। सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेदलाई जोगाउन सकिँदैन भने हाम्रो देश कसरी जोगाउन सकिन्छ। देश जोगाउन शुरुमा यस्तो ठाउँ जोगाउनुपर्‍यो नि।’

उहाँले सरकारले हेरेका निकायहरू सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने दृष्टिकोण सबैमा बराबरी रहेको बताउनुभयो। शाहले भन्नुभयो, ‘सचिवज्युको एउटा कुरामा म के सहमत भएँ भने मन्त्रालयले एलोप्याथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्छ। किनभने एलोप्याथिक पनि डुबेको छ, आयुर्वेदिक पनि डुबेको छ। वीर अस्पताल पनि डुबेको छ, टिचिङ पनि डुबेको छ, वैद्यखाना पनि डुबेको छ। सबै बराबर छ। मन्त्रालयले हेर्ने दृष्टि ठ्याक्कै बराबर छ, केही पनि फरक छैन। सबै चिज डुबाइएको छ। शाहले सबै सरकारी निकायहरू उकास्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू