अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 08:49

साफ च्याम्पियनसिप : फाइनल हेर्ने टिकट काट्न बिहानैदेखि लाम

बिआरटीनेपाल २०८१ कार्तिक १३ गते २२:२९ मा प्रकाशित

साफ महिला च्याम्पियनसिपको नेपाल- बंगलादेशबीच हुने आजको फाइनल हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)  ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको छ । एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।

अनलाइन टिकट खरिद बन्द गरेपछि बिहानैदेखि टिकट बिक्रीस्थलमा सर्वसाधारण लाइनमा बसेका छन् । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ । यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्री जिम्मा एक कम्पनीलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैँले टिकट बेच्न लागेको हो ।

उक्त खेलमा १५ हजार दर्शक क्षमताको रंगशालामा १९ हजारलाई प्रवेश गराइएको थियो । २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल हेर्न नपाएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू