अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 13:09

एक महिनादेखि ठप्प रहेको रसुवागढी नाकाबाट आजदेखि कन्टेनर नेपाल प्रवेश गर्न थाले

बिआरटीनेपाल २०८१ कार्तिक १३ गते ६:२८ मा प्रकाशित

बाढी पहिरोका कारण एक महिनादेखि ठप्प रहेको रसुवागढी नाकाबाट आजदेखि कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन् ।रसुवागढी नाकाबाट चीनको केरुङतर्फको सडकमा धेरै क्षति पुगेकाले एक महिनादेखि चीनबाट नाकासम्म कन्टेनर आउन पाएका थिएनन् । चीन सरकारले सडकको पहिरो पन्छाएसँगै आजदेखि मालवाहक कन्टेनर नेपालको रसुवागढी नाकामा भित्रिन थालेका छन् । सडक क्षतिग्रस्त भएपछि दशैँ, तिहार र छठका लागि झिकाइएका मालसामान एक महिनादेखि चीनतिरै रोकिएका थिए ।

चिनियाँ अधिकारीहरूले सामानसहित १३ टन तौल भएका मालवाहक गाडीमात्र एकतर्फी आउजाउ गर्नसक्ने सूचना पठाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । कन्टेनरहरू बिहान केरुङबाट नेपाल आउने र बेलुकी नेपालबाट केरुङ जाने तालिका मिलाइएको पनि उहाँले बताउनुभयो । केरुङको गोदाममा राखेका र कन्टेनरमा लोड गरेका हजारौं टन मालवस्तु चीनतिरै छन्, यी मालवस्तु अब बिस्तारै नेपाल आउनेछन् । १३ टन तौलको सीमा तोकिएको र एकतर्फी सडकका कारण सबै सामान नेपाल आउन लामो समय लाग्ने भन्सार कार्यालयले जनाएको छ ।

स्याउ, आँप, किबी, ओखर, लसुनलगायतका कुहिने र सडेर जानसक्ने वस्तु रहेका कन्टेनर एक महिनादेखि रोकिँदा करोडौं रुपैयाँ नोक्सानी भएको व्यवसायीले गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू