अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 13:21

सरकारप्रति निजी क्षेत्रमा चरम निराशा छ, पोखियो भने नियन्त्रण गर्न मुस्किल पर्ला : इप्पान

बिआरटीनेपाल २०८१ कार्तिक १२ गते ७:१९ मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढीपहिरो प्रभावित जलविद्युत् आयोजनालाई सरकारले राहत र क्षतिपूर्तिका लागि सहजिकरण गर्न नसक्ने भए हात उठाउनुपर्ने बताउनुभएको छ । सोमबार अध्यक्ष कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डल र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काबीच ऊर्जा मन्त्रालयमा भएको छलफलमा सो कुरा बताउनुभएको हो ।

सरकारले बाढीपहिरोमा मात्र नभएर अन्य कुनै पनि मुद्दामा सहजीकरण नगर्दा निजी क्षेत्रका प्रवर्द्धकहरूमा निराशा र आक्रोश बढ्दै गएको उल्लेख गनुृभयो । सरकारले समयमै समस्या समाधान गर्न पहल नगरे भोलि नियन्त्रण नै गर्न नसक्ने गरी आक्रोश पोखिन सक्ने कार्कीले चेतावनी दिनुभयो । उहाँले आरसीओडीको म्याद किन नथपिएको, बाढीपहिरो प्रभावित आयोजनालाई राहत कहिले दिने, पीपीए कहिले खुलाउने, २०८४ भित्र विद्युत् उत्पादन नभए स्वतः टेक एन्ड पे हुने व्यवस्था कहिले हटाउने लगायतका प्रश्न मन्त्रीसामु राख्नुभएको थियो ।

नियामक निकाय धेरै हुँदा काममा ढिलाइ भइरहेकोले १० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादन सम्भव नहुने पनि कार्कीले बताउनुभयो । पावर ट्रेडको बोटलनेक अन्त्य गर्न सकेमा अहिले देखिएका धेरै विषय समाधान हुने इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले बताउनुभयो । भन्सार छुटको सुविधा बाढी प्रभावित आयोजनालाई मात्र नभएर सबैले पाउनुपर्ने इप्पान महासचिव बलराम खतिवडाले बताउनुभयो । उहाँले असोज ११र१२ को बाढी मात्र नभइ यसअघि असाररसाउन तथा गत वर्षको जेठरअसारमा आएको बाढीले क्षति पुर्‍याएका आयोजनाले पनि राहत र क्षतिपूर्ति पाउनुपर्ने भनाइ राख्नुभयो ।

इप्पान प्रतिनिधिसँगको भेटमा निजी क्षेत्रले उठाएका सबै मुद्दामा सरकार गम्भीर रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताउनुभयो । २८ हजार ५०० मेगावाटको मार्गचित्र मन्त्रिपरिषद्‌मा पुगेको जानकारी दिँदै मन्त्री खड्काले बाढीपहिरोको कुरामा अर्थको सहमति र विपद् व्यवस्थापन समितिको रायका लागि पठाइएको पनि जानकारी गराउनुभएको थियो । आरसीओडीको म्याद थप, पीपीए खुलाउने, विद्युत् व्यापारको बोटलनेक हटाउने लगायतका मुद्दामा सरकार गम्भीर भएर लागि परेको मन्त्री खड्काको भनाइ थियो । उक्त छलफलमा सहभागी ऊर्जा सचिव सुरेश आचार्यले निजी क्षेत्रका धेरै विषय समाधान हुने गरी मन्त्रिपरिषद्‌मा लैजाने तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू