अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 04:24

तिहारमै झिलिमिली बत्तीसहितका विद्युतीय सामग्रीको व्यापारमा कमी

बिआरटीनेपाल २०८१ कार्तिक १२ गते ६:५९ मा प्रकाशित

तिहारको बेलामा नै विद्युतीय सामग्रीको व्यापारमा कमी आएको व्यवसायीहरूले बताएका छन् । पोहोरकै विद्युतीय सामग्री बिक्री नभएकाले यस वर्ष नयाँ सामग्री खासै नकिनेको व्यवसायीहरूको भनाइ छ ।तिहारमा धेरै बिक्री हुने भनेको झिलिमिली बत्ती हो । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताउनुभयो । उहाँका अनुसार विगतका वर्षहरूमा झैँ यस वर्ष विद्युतीय सामग्रीको व्यापार छैन ।

कोलकताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामान आइसकेको भए पनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन् । तातोपानी नाकाबाट केही दिनभित्रै सामग्री आउने जानकारी पाए पनि बजार भने काठमाण्डाै केन्द्रित मात्रै हुने निश्चित भएको महासङ्घका अध्यक्ष देवकाेटाको भनाइ छ ।महासङ्घले यस वर्षको तिहारमा ३० करोड रुपैयाँसम्मको सामान बिक्री गर्ने अनुमान गरेको छ । तर विगतका वर्षहरूमा ५०/६० करोड रुपैयाँको विद्युतीय सामग्रीको व्यापार हुन्थ्यो ।

काठमाण्डौको सुन्धारामा विद्युतीय सामग्रीको व्यापार गर्दै आउनुभएका सुशील प्रधानाङ्गले पनि अहिले व्यापार खासै राम्रो नभएको गुनासो गर्नुभएको छ । पैसाको अभावका कारण नै बजारमा चहलपहल कम रहेको व्यापारी प्रधानाङ्गको भनाइ छ । सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आउनुभएकी सङ्गीता श्रेष्ठ पनि यस वर्ष खासै व्यापार नभएको बताउनुहुन्छ । रमाइलो गर्ने युवा जनशक्ति बाहिरिँदा यस्ता व्यापारमा समेत असर पर्ने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू