अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 04:08

राजनीतिक स्थिरता र आर्थिक समृद्धिको लागि वर्तमान सरकार -अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०८१ कार्तिक ११ गते ५:०६ मा प्रकाशित

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा पेशा व्यवसाय गर्दै आएका नेपाली समुदायलाई नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले जनतामा रहेको निराशा चिर्दै, आशा जगाउने र सुन्दर भविष्य निर्माण गर्ने दिशामा वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीलाई नेपालमा ऊर्जा, पर्यटन, सूचना प्रविधि लगायत उच्च सम्भावनाका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । गैरआवासीय नेपाली नागरिकलाई मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्नमा आवश्यक कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीको लगानी रहने एनआरएनए डेभलपमेन्ट फन्ड कार्यान्यनमा जाने अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

‘नेपालमा लगानीको आकर्षक प्रतिफल प्राप्त गर्ने अवसर छ, सरकारले तपाईंहरूको लगानी सुरक्षाको ग्यारेन्टी गर्दछ, तपाईंहरूले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने गरी कानुनी एवं प्रक्रियागत प्रबन्ध मिलाउँदै छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘व्यक्तिगत रूपमा प्रतिफल प्राप्त गर्न र नेपालको आर्थिक समृद्धिमा योगदान गर्न आग्रह गर्दछु ।’ गैरआवासीय नेपालीले नेपालको भाषा, संस्कृति, सभ्यता र जीवनशैलीलाई अवैतनिक वाणिज्यदूतको रूपमा विश्वभर फैलाउन योगदान गरेको उल्लेख गर्दै उहाँले आफ्नो मातृभूमि प्रतिको आस्था, विश्वास र सम्मानप्रति गैरआवासीय नेपालीलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी सम्वद्ध कानुनहरूलाई समसामयिक परिमार्जन गरी उपयुक्त वातावरण निर्माण भएको उल्लेख गर्दै नेपालमा लगानीका लागि प्रशस्त अवसर र सम्भावना भएकाले गैरआवासीय नेपालीलाई विदेशमा रहँदा आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई मुलुकको विकासमा उपयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू