अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 18:32

दिल्लीको वायु प्रदूषण घातक अवस्थामा, तिहारका बेला झनै बढ्ने जोखिम

बिआरटीनेपाल २०८१ कार्तिक ११ गते ४:५७ मा प्रकाशित

भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा हावाको गुणस्तर मानव स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । आज दिल्लीको आनन्दबिहारमा हावाको गुणस्तर मापन सूचक (एक्यूआई) ४ सय ६ र अलिपुर क्षेत्रमा ४ सय ३ मापन भएको भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार एक्यूआई ३ सयभन्दा माथि पुगेमा मानिसका लागि डरलाग्दो वा घातक हुन्छ । तर दिल्लीका कतिपय ठाउँमा एक्यूआई ४ सय नाघेको छ । बिहान दिल्लीको हावाको गुणस्तर औसतमै ३ सय ५६ एक्यूआई पुगेको छ ।

वायु प्रदूषणका कारण दिल्लीमा आँखा पोल्ने, घाँटी खसखस हुने र श्वासप्रश्वासका बिरामी बढेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तिहार नजिकिँदै गरेकोले हावाको प्रदूषण अझै बढ्ने भन्दै डाक्टरहरूले चिन्ता व्यक्त गरेका छन् । दिल्लीमा तिहारमा पटकालगायतका विस्फोटक पदार्थ अत्यधिक पड्काउँदा त्यसको धूवाले वायु प्रदूषण निकै बढ्ने गरेको छ ।

यो समयमा दिल्लीको छिमेकी राज्यहरू हरियाणा र उत्तर प्रदेशका किसानले खेतमै पराल जलाउने भएका कारण पनि दिल्लीमा प्रदूषण बढ्ने गरेको छ । सरकारले कृषि अवशेष जलाउने काम रोक्न गरेको पहल किसान आन्दोलनका कारण विफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू