अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

गैरआवासीय नेपाली सङ्घभित्र राजनीति नगर्न प्रधानमन्त्री ओलीको सुझाव

बिआरटीनेपाल २०८१ कार्तिक ११ गते ४:४६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्र राजनीति नगर्न सुझाव दिनुभएको छ । आजदेखि काठमाण्डाैमा शुरू भएको ‘एनआरएनए’ को विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दलका आ–आफ्नै सङ्गठन भए पनि संस्थाभित्र राजनीति नगर्न सुझाव दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीको माग सम्बोधन गर्न संविधानमै गैरआवासीय नागरिकता उल्लेख गरेको बताउनुभयो । उहाँले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभयो ।

स्वदेश तथा विदेशका पाँच सय जनाभन्दा धेरैको सहभागिता रहने र सात वटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । सम्मेलनमा नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणलगायत विविध विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया