अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

काठमाण्डौमा आज माओवादीको खबरदारी सभा : सुरक्षा व्यवस्था कडा, गाडीको आवतजावत प्रभावित नहुने

बिआरटीनेपाल २०८१ कार्तिक ९ गते २३:४३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध आज काठमाण्डौमा विरोध प्रदर्शन र खबरदारी सभा गर्दैछ । बिहान ११ बजेपछि काठमाण्डौको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने माओवादीले जनाएको छ । माओवादीले यसलाई भ्रष्टाचार र बेथितिविरुद्धको प्रदर्शन भनेको छ । सबै जनवर्गीय सङ्गठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिइसकेको छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । खबरदारी सभा शुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाण्डौ मल अगाडिबाट जुलुश शुरु हुनेछ ।

जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने भएकाले केहीबेर गाडीको आवागमन प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ । तर माओवादीले प्रदर्शनीमार्गको सडकमा सभा गर्न लागेकाले लामो ट्राफिक व्यवस्थापनमा खासै समस्या नपर्ने प्रहरीले जनाएको छ । प्रदर्शनी मार्ग गाडीको चाप कम हुने र विकल्पसहितको सडक हो ।

यसैबीच माओवादीको प्रदर्शन र सभालाई लक्षित गरेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइने काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । माओवादीले भनेअनुसार प्रदर्शन र सभामा ठूलो सङ्ख्यामा मानिसको उपस्थिती हुने भएकाले सुरक्षाको लागि ठूलै सङ्ख्यामा प्रहरी परिचालन हुने भएका कार्यालयले जनाएको छ । हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले राष्ट्रिय अनुसन्धान विभागको सूचनालाई आधार बनाएर आवश्यक रणनीति बनाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू