अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

सान् फ्रान्सिस्कोमा नेपाली सामुदायिक भवनलाई बैना

बिआरटीनेपाल २०८१ कार्तिक ७ गते १२:०६ मा प्रकाशित

समुदायसँग सहयोग आह्वान

सान् फ्रान्सिस्कको । अमेरिकाकै प्रख्यात शहर सान् फ्रान्सिस्कको क्षेत्रमा नेपाली सामुदायिक केन्द्रको भवन खरिद हुने भएको छ । अमेरिकाकै पुरानो संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले राखेको खरिद अफर स्वीकृत भएपछि भवन किन्ने बाटो खुलेको हो ।

हजारौँ नेपालीको बसोबास रहेको यो क्षेत्रमा सामुदायिक केन्द्रको वर्षौँ देखिको सपना बल्ल पुरा हुने भएको छ । हालै नेपालीको बढी बसोबास रहेको रिचमण्ड शहरको हलसहितको एक ठुलो भवन धनीले नान्सलाई बिक्री गर्न सहमत भएको छ । जसका लागि ६० हजार अमेरिकी डलर दिएर बैना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले जानकारी दिएका छन् ।
करिब १० हजार ८ सय वर्ग फिटको भवन छ । सुविधा सम्पन्न मुख्य सभाकक्ष ५सय २८ जना क्षमताको छ । २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरू र शौचालय छन् । ५४ हजार वर्ग फिटको पार्किङ लटमा १सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छन् ।

सो भवन २१ लाख ७० हजार अमेरिकी डलर मूल्य तय गरेर बिक्रीमा राखिएको थियो । तर नान्सले बिक्री प्रतिनिधिसँगको पटक–पटक वार्ता गरी १८ लाख ६० हजारमा खरिद गर्ने नान्सको प्रस्तावमा बिक्रेता सहमत भएको महासचिव यज्ञ नेपालले बताए । योसँगै अब २ महिनाभित्र करिब २० प्रतिशत सुरु भुक्तानी (डाउन पेमेन्ट) रकम बुझाएपछि भवनको स्वामित्व हस्तान्तरण हुनेछ र । यसका लागि करिब ४ लाख डलर नगद आवश्यक पर्छ ।

नान्सका अध्यक्ष कार्की बे एरियामा बस्ने नेपालीले वर्षौदेखि देखेको साझा सपना पुरा गर्न एकजुट हुनुपर्ने समय आएको बताउँदै सहयोगका लागि सबै समुदायलाई आव्हान गरेका छन् । ‘डाउन पेमेन्टको रकम सङ्कलन, ऋण लिएर भवन पास गर्ने र मोर्गेज रकम व्यवस्थापनका निम्ति सबै मिलेर काम गर्नु छ’ कार्कीले भने, ‘सिङ्गो समुदाय एकजुट हुँदा यो सबै चुनौती सहजै पार लाग्छ भन्ने विश्वास छ ।’

यही सातादेखि विशेष अभियान लिएर यो क्षेत्रका सबै नेपाली समुदायको टोल–टोलमा पुगेर रकम सङ्कलन गरिने योजना रहेको कार्कीले बताए ।

चाडपर्व एवं धर्म, संस्कृति अनुसारका सामाजिक सांस्कृतिक कार्यक्रम गर्न सामुदायिक केन्द्रको आवश्यकता परेको अगुवाहरूको भनाई छ । सन् २००६ मा निर्माण भएको नयाँ र चिटिक्क परेको छ । कुनै पनि मर्मत सम्भार बिना किनेको भोलिपल्टैदेखि कार्यालय सञ्चालन तथा अन्य गतिविधि गर्न सकिने अवस्थाको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू