अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 19:07

सूर्यदर्शन सहकारी पीडित भन्छन् – रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्‍यो

बिआरटीनेपाल २०८१ कार्तिक ७ गते ७:४० मा प्रकाशित

सूर्यदर्शन सहकारी बचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरुको संघर्षलाई दबाउन खोजेको बताएका छन् ।

बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुको संघर्षलाई दबाउन खोजेको बताएका हुन् । आफूहरु सहकारीको बचत रकम फिर्ताको मागसहित आन्दोलित भएको भन्दै उनीहरुले रास्वपाले समेत सोही नारा बोकेर पीडितहरुको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी संस्थाका बचत पीडित गोकर्ण बरुवालले आफूहरु बचत रकम फिर्ताको मागसहित आन्दोलित भएको बताउनुभयो । उहाँले रास्वपाले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि सहकारी पीडितको आवाज बोलेजस्तो गरेको आरोप लगाउनुभयो ।

सूर्यदर्शन वचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले आफूहरु कुनै राजनीति पार्टीसँग सम्बन्धित नभएको भन्दै आफूहरुले वचत फिर्ताको माग राखेर आन्दोलन गरिरहेको बताउनुभयो । उहाँले आफूहरुको बचत छिटोभन्दा छिटो फिर्ता गराउन सरकारसँग माग गर्नुभयो ।

सूर्यदर्शन सहकारी बचत पीडित सङ्घर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेले पक्राउ पर्न बाँकी रहेका सहकारी ठगहरुलाई तुरुन्त पक्राउ गर्न माग गर्नुभयो । उहाँले उनीहरुको सम्पत्ति लिलामी गरेर वचत फिर्ता गराउनका लागि आफूहरुले सरकारलाई दबाब दिइरहेको बताउनुभयो ।

त्यसैगरी सूर्यदर्शन सहकारी वचत पीडित प्रेमप्रसाद रेग्मीले बाहिरी जिल्लाबाट पोखरामा आएका रास्वपाका कार्यकर्ताले सहकारी पीडितको घर–घरमा पुगेर आश्वासन दिइरहेका भन्दै खेद व्यक्त गर्नुभयो । उहाँले रास्वपा कार्यकर्ताले आफ्नो सभापति अनुसन्धानमा तानिएपछि मात्रै सहकारी पीडितको न्यायको लागि बोलेर आफूहरुको सङ्घर्षलाई अन्तै मोड्ने काम गरिएको बताउनुभयो ।

उहाँले कानूनअनुरुप सहयोग गर्न रास्वपा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू