अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

२३८ जना मृतकका परिवारलाई ४ करोड ७६ लाख राहत प्रदान

बिआरटीनेपाल २०८१ कार्तिक ६ गते ७:०९ मा प्रकाशित

सरकारले बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका २३८ परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोज १२ को दोस्रो साता आएको विपद‍्मा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप प्रतिव्यक्ति रु दुई लाखका दरले राहत रकम वितरण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म विपद‍्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप राहत रकम वितरण गरिएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार सबैभन्दा बढी विपद्का ज्यान गुमाएका काभ्रेपलाञ्चोक जिल्लामा ७९ जना मृतकका परिवारमध्ये ७८ जनाका परिवारलाई राहत रकम वितरण भइसकेको छ । त्यहाँ मृतक १ जना बालकको कागजी प्रक्रियामा रहेकाले परिवारलाई चाँडै राहत रकम दिइनेछ ।

त्यसैगरी ललितपुरमा मृत्यु भएका ४६ मध्ये ४५ जनाका परिवारलाई रकम हस्तान्तरण गरिएको छ भने एक जनाको हकदार यकिन नभएकाले रोकिएको गृह मन्त्रालयले जनाएको छ । प्रवक्ता तिवारीका अनुसार काठमाडौँमा १९ जना मृतकका परिवार, भक्तपुरमा चार, झापामा २, पाँचथरमा ७, धनकुटा र उदयपुरमा १र१, सोलुखुम्बुमा ५, इलाममा १, ओखलढुंङ्गामा १, महोत्तरीमा २, सप्तरीमा १, सर्लाहीमा ३ र रौतहटमा ४ जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

त्यसैगरी गृह मन्त्रालयबाट सिराहामा १, मकवानपुरमा ७, धादिङका ३६, सिन्धुपाल्चोक र दोलखामा ७र७, रामेछापमा १, सिन्धुलीमा ३ र रुपन्देहीमा २ जना मृतकका परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराइएको छ । विपद‍्मा परी ज्यान गुमाएका मध्ये १२ जनाका परिवारलाई राहत वितरण कार्य प्रक्रियामा रहेको छ । ‘पारिवारिक विवरण यकिन नभएको, कागजात मिलाउने पक्रिया, हकदार यकिन नभएको, हकदार देशबाहिर रहेको लगायतका अवस्थाका मृतकका परिवारलाई मात्रै राहत रकम वितरण गर्न नसकिएको हो’, उहाँले भन्नुभयो, ‘मृतकका परिवारलाई राहत रकम वितरणमा जिल्ला प्रशासन कार्यालयहरू सक्रिय छन् ।’ विपद् लगत्तै प्रमुख जिल्ला अधिकारीसहितको टोली मृतक परिवारमै पुगेर राहत रकम वितरण गर्दै आएको थियो ।

विपद् लगत्तै गृहमन्त्री रमेश लेखकले मृतकका परिवारलाई राहत रकम वितरण, घाइतेको निःशुल्क उपचार, अवरुद्ध सडक सञ्चालनमा जोड दिनुका साथै लाभग्राहीको विवरण संकलन गरी सहयोग गरिने विषय प्राथमिकतामा राख्नुभएको थियो । असोज दोस्रो साताको विपद‍्मा परी १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात छ । विपद्का बेला नेपाली सेनाको हेलिकप्टरदेखि सुरक्षा संयन्त्र प्रभावित क्षेत्रमा खटिएर नागरिकको खोज तथा उद्धार, राहत वितरण र घाइतेको उपचार लगायतको व्यवस्थापनमा खटिएको थियो ।

त्यसैगरी सरकारले विपद् प्रभावित जिल्लाका प्रभावित पालिकालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रभावित पालिकाहरुलाई रु ५० लाखदेखि १ करोडसम्म राहत रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू