अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

कांग्रेस र एमाले गठबन्धन सरकारको सय दिन पूरा

बिआरटीनेपाल २०८१ कार्तिक ६ गते ६:२९ मा प्रकाशित

संघिय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार गठन भएको आज सय दिन पूरा भएको छ । यो अवधिमा सरकारले उल्लेख्य उपलब्धीहरु हाँसिल गरेको दाबी गरे पनि आम जनतामा भने आशाको सञ्चार हुन सकेन ।प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको मंगलबार एक सय दिन पूरा भएको छ । आमनागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने मुख्य लक्ष्यसहित गठन भएको सरकारले सय दिनमा नागरिकले महशुस गर्ने गरी प्रगति हाँसिल गर्न सकेन । सरकारले यो अवधिमा उल्लेख्य प्रगति हाँसिल भएको फेहरिस्त बनाइरहँदा आम नागरिकमा भने आशा भन्दा निराशाको मात्रा बढी देखिएको छ ।

नयाँ कामको थालनी गर्ने भन्दा सम्पन्न हुन बाँकी कामलाई प्राथमिकता दिने कुरा प्रधानमन्त्री ओलीले पदबहालीका क्रममा बताउनु भएको थियो । यद्यपि यो अवधिमा खासै नयाँ कामको शुरुवात भएन भने पुराना कामले पनि सोचेजस्तो गति लिन सकेन । प्रधानमन्त्र िओलीले अघिल्लो कार्यकालमा उद्घाटन गरेर पनि सञ्चालनमा आउन नसकेको धरहरा यो अवधिमा सञ्चालनमा आएको छ । तर, त्यसको निर्माण कार्य भने अझै पूर्णरुपमा भइसकेको छैन । केही सडक र पुलको निर्माण कार्यले गति लिएको छ भने मेलम्चीको पानी वितरण प्रारम्भ गरिएको छ । तर, त्यो पनि धरहरा जस्तै अपुरो रुपमै छ । यस अवधिमा सरकारले सेवा प्रवाहलाई चुस्त बनाउने घोषणा गरेको थियो । नागरिकहरु लामो लाइनमा बस्ने अवस्थाको अन्त्य गरिने भनेको थियो । तर, त्यसमा पनि खासै सुधार हुन सकेन ।

संविधान संशोधनको एजेण्डामा यो अवधिमा कुनै पनि काम भएन । सरकारले कार्यसम्पादन सम्झौता र कामको मूल्यांकन प्रणालीलाई स्थापित गर्ने प्रयास अघि बढायो । प्रधानमन्त्रीले मन्त्रीसँग, मन्त्रीले सचिवसँग र सचिवले अन्तर्गतका पदाधिकारी तथा संस्था प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्ने काम गरियो । यसलाई कडाइका साथ पालना गर्न निर्देशन दिने काम पनि पटक पटक भयो । तर, न त्यस अनुसार काम भयो न कुनै मूल्यांकन नै । बरु कहिले विद्युतको बक्यौता भुक्तानी प्रकरण त कहिले पदाधिकारी बर्खास्त र नियुक्तिका विषयले सरकार विवादमा रुमलिने स्थिति बन्यो ।

गत असोजको दोस्रो साता आएको अविरल वर्षापछिको डुबान, बाढी र पहिरोले निम्त्याएको विपद्मा पनि सरकारको उपस्थिति प्रभावकारी हुन सकेन । विपद्पछिको उद्धार, घाइतेको उपचार र पीडितलाई राहतको काममा सरकारी संयन्त्र जुन रुपमा परिचालित हुनुपर्ने थियो, त्यो भएन । देशका २० भन्दा बढी जिल्ला बाढी, पहिरो र डुबानले अस्तव्यस्त हुँदा पीडितको उद्धारमा सरकारी संयन्त्रको उपस्थिति कमजोर देखियो । प्रधानमन्त्री ओली त्यो समयमा राष्टसंघको सम्मेलनमा भाग लिने क्रममा विदेशमा रहेको विषय पनि आलोचनाको विषय बन्यो । यद्यपि पछिल्लो समयमा सरकारले पीडितलाई राहतको घोषणा गरेर बढ्दो आलोचनालाई मत्थर पार्ने प्रयास गरेको छ । एमाले केन्द्रीय कार्यालय भवन निर्माणका लागि विवादित व्यावसायी मीन बहादुर गुरुङबाट जग्गा दान लिएको र प्रधानमन्त्री स्वयंले तिनै व्यापारीसँग बसेर भवन शिलान्यास गरेको विषय पनि आलोचनाको घेरामा पर्यो ।

अघिल्लो सरकारको समयमा तत्कालीन विपक्षी पार्टी नेपाली कांग्रेसको जोडबलमा सहकारी ठगी प्रकरणको छानवीन गर्न गठित संसदीय विशेष समितिले यो अवधिमा प्रतिवेदन दियो र सरकारले त्यसलाई कार्यान्वयनमा पनि लग्यो । त्यही क्रममा पूर्व गृहमन्त्री एवं राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान अघि बढायो । यो कामको समर्थन र विरोध दुवै जारी छ । सत्ता पक्षले यसलाई प्रगतिको रुपमा प्रचार गरिरहँदा विपक्षीहरु भने यो विषयसमेत जोडर सरकारलाई घेराबन्दी गर्ने रणनीतिमा उत्रिएका छन् ।

यो अवधिमा सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्बाट पारित गराएर सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्न समिति गठन गरेको छ । यसलाई भने सरकार मात्र नभई विपक्षीले पनि सकारात्मक काम भनी प्रशंसा गरेका छन् । यसै गरी बाह्य सम्बन्धमा पनि सरकार खासै विवादमा परेको छैन । बरु सन्तुलित सम्बन्ध बनाएको भनी सकारात्मक टिप्पणी हुने गरेको छ ।

दुई ठूला र पुराना दल मिलेर गठन भएको झण्डै दुई तिहाइको वर्तमान सरकारबाट देश र जनताका लागि पक्कै पनि केही राम्रो काम हुन्छ भन्ने अपेक्षा जनताको थियो । सरकारले स्थिरता दिने भएकोले नीतिगत स्पष्टता र चुस्त कार्यान्वयनसँगै मुलुकले समृद्धिको दिशामा नयाँ फड्को मार्ने आशा गरिएको थियो । शुरुवाती दिनमा शेयर बजारमा छाएको हरियाली आर्थिक सुधारको शुभ संकेत मान्नेहरु अव थलिएको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने विश्वासमा थिए । तर, त्यसो हुन नसक्दा जनतामा फेरि निराशा छाउनु स्वाभाविक हो । सरकारले आफ्नो कार्यशैली परिवर्तन गरेर पूर्व घोषणा अनुसार दोस्रो सय दिन र त्यसपछि चालु आर्थिक वर्षका बाँकी दिनमा तीब्र गतिका साथ जनताको अपेक्षा संवोधन गर्न नसक्ने हो भने यो सरकार त असफल हुने नै छ, त्यसको असर वर्तमान प्रणालीमा समेत पर्ने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू