अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

बिआरटीनेपाल २०८१ कार्तिक २ गते २०:२५ मा प्रकाशित

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार बिहान कास्की प्रहरीको जिम्मा लगाइएको छ। उहालाई बिहान करिब २ बजेर ४५ मिनेटमा जिप्रका कास्की पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ। उहा कास्की प्रहरीको हिरासतमा रहनुभएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौँस्थित रास्वपा कार्यालयबाट पक्राउ गरी लामिछाने लाई स्थलमार्ग हुँदै पोखरा पुर्‍याइएको हो। पोखरा पुगेपछि उहालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो।

लामिछानेलाई कास्की प्रहरी कार्यालय पुर्‍याउँदा रास्वपा उपाध्यक्ष स्वर्णिम वाग्ले त्यहाँ पुगिसक्नुभएको थियो । उहासङ्गै  केही कार्यकर्ता पनि त्यहाँ थिए।

रास्वपाका अर्का उपाध्यक्ष डीपी अर्याल र पत्नी निकिता पौडेल पनि काठमाडौँबाट सडकमार्ग हुँदै त्यहाँ पुगेका थिए। हिरासतमा वाग्ले, अर्याल र पौडेलले लामिछाने लाई भेटेका थिए।

सहकारी ठगी प्रकरणमा सूर्य थापा नेतृत्वको समितिले अनुसन्धान सिफारिस गरेपछि लामिछाने पक्राउ पर्नुभएको हो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको अनुसन्धान प्रतिवेदनमा छ। यसअघि गोर्खा मिडियाका अर्का सञ्चालक छविराज जोशी पक्राउ परेर अनुसन्धानका लागि कास्की प्रहरीको थुनामा छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू