भारतीय सीमा नाका, ढाट, दरैया, पोस्ट, उखुबारी, मटेरुवा, इस्लामपुरबाट तस्करी भइरहेको र भन्सार नतिरी लत्ताकपडा, कस्मेटिक आइटमहरू आइरहेको भन्दै कपडा तस्करहरूबाट मासिक साढे १० लाख, माछा व्यापारीबाट ९ लाख, किराना पसलबाट २ लाख, भन्सार एजेण्टबाट १ लाख, तरकारी, कुखुरा, ग्यासका सामान, हार्डवेयर पसल तथा गाई गोरु तस्करहरूबाट लाखौँ रुपैयाँ गरेर मासिक ३० लाखसम्म असुल्ने गरेको उनीविरुद्धको उजुरीमा दाबी गरिएको छ ।
निवेदनमा तस्करीमा संलग्न सीमा क्षेत्रमा व्यापारीहरूको नाम, फोन नम्बर र पसलको नाम समेत दिइएको थियो । २०८१ असारको पहिलो हप्ता एसपी कार्कीले खटाएका घुमुवाविरुद्ध प्रधानमन्त्री कार्यालयमा एउटा बेनामे उजुरी परेको थियो । उजुरीबारे छानबिन गर्न प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएको थियो । प्रदेश प्रहरी कार्यालयले अनुसन्धान गर्दा एसपी कार्कीले खटाएका घुमुवाहरूको बदनीयत नदेखिएको प्रतिवेदन हेडक्वाटरमा पठायो ।
एसपी कार्कीद्वारा परिचालित घुमुवाले तस्करसँग साँठगाँठ गरी दिनमा र रातमा लाइन चलाएर भन्सार नतिरी सामान ओसारपसार भइराखेको उजुरीमा उल्लेख थियो ।
‘पटक-पटक उजुरी परे पनि घुमुवा प्रहरीहरूलाई कारबाही नगरी प्रदेश प्रहरी कार्यालयले पनि त्यही काममा खटाएको’ उजुरीमा उल्लेख छ ।