अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बिआरटीनेपाल २०८१ कार्तिक १ गते ६:४३ मा प्रकाशित

बङ्गलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादिर र अरु ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ । पक्राउ पुर्जी जारी भएकामा लेखक एवम् शिक्षाविद् प्राध्यापक जफर इकबाल र पूर्वन्यायाधीश शम्शुद्दीन चौधरी मणिक पनि रहेका छन् ।

बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) का मुख्य अभियोजक इस्लामले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र आउँदो नोभेम्बर १८ तारिखमा अदालतमा पेश गर्न आदेश दिएको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

शेख हसिनालाई गएको जुलाई–अगस्टमा देशमा भएका अपराधमा संलग्न भएको आरोप छ । उहाँको १५ वर्षे शासनकालमा व्यापक रूपमा मानव अधिकार उल्लङ्घन, राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासतमा राख्ने र गैरन्यायिक हत्या गर्नेजस्ता काम भएको आरोप हसिना प्रशासनलाई लागेको छ ।

गएको ५ अगस्टमा छात्रहरूको आन्दोलनका कारण शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो र देश छाडेर भारत जानुभएको थियो । त्यसयता उहाँ भारतमै हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू