अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

उत्तर कोरियाको संविधानमै दक्षिण कोरियालाई ‘शत्रु राज्य’ का रूपमा परिभाषित

बिआरटीनेपाल २०८१ कार्तिक १ गते ५:५१ मा प्रकाशित

उत्तर कोरियाको संविधानले दक्षिण कोरियालाई ‘शत्रु राज्य’ का रूपमा परिभाषित गरेको छ । उत्तर कोरियाले भर्खरै संशाेधन गरेको संविधानमा दक्षिण कोरियालाई शत्रु राज्यका रूपमा परिभाषित गरेको बीबीसीले जनाएको छ ।

उत्तर र दक्षिण कोरियाबीचको तनाव वर्षाैंयताकै उच्च विन्दुमा पुगेको अवस्थामा उत्तर कोरियाली अखबार ‘रोदोङ सिनमुन’ ले संविधान संशोधनलाई ‘अपरिहार्य र वैध उपाय’ का रूपमा व्याख्या गरेको जनाएको छ ।

गएको जनवरी महिनामा उत्तरका नेता किम जोङ उनले दक्षिणलाई आफ्नो सत्ताको ‘एक नम्बरको शत्रु’ भनेर घोषणा गरेयता यी दुई देशबीचको तनाव उच्च विन्दुमा पुगेको छ ।

उत्तर कोरियाले मङ्गलवार दक्षिण कोरियासँग जोड्ने सडक र रेलमार्गलाई विस्फोट गराएर ध्वस्त पारेको थियो । उत्तर कोरियाली मिडियाले यसलाई उत्तर र दक्षिण कोरियालाई पूर्णरूपमा अलग गर्ने कदमको कार्यान्वयनको भागका रूपमा वर्णन गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले गएको वर्षको डिसेम्बर महिनाको शुरूमै उत्तर कोरियासँग एकीकरण त्यागेका कारण केही पर्यवेक्षकहरूले संविधान संशोधनलाई ठूलो मात्रामा प्रतीकात्मक कदमका रूपमा हेरेका बीबीसीले जनाएको छ ।

दुई देशबीच सन् १९५३ मा युद्ध अन्त्य भए पनि औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर नभएका कारण अहिले पनि प्राविधिक रूपमा उत्तर र दक्षिण कोरिया एकअर्काविरुद्ध युद्धकै अवस्थामा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू