अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

रास्वपाद्वारा प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल

बिआरटीनेपाल २०८१ असोज ३० गते ७:३१ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गरेको छ । बुधवार सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका समसामयिक समस्याहरू तत्काल छलफल गर्न आवश्यक देखिएको भन्दै प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गर्दै राजनीतिक दलहरूको ध्यानाकर्षण गराउनुभएको हो ।

विज्ञप्तिमा नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलको सहभागितामा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिन पूरा गर्नै लागेको भए पनि घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ प्रारम्भिक सङ्केतसम्म देखाउन नसकेको उल्लेख छ । प्रवक्ता झाले विपद्को पूर्व तयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको दाबी गर्दै मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेको र सुशासनको अडान धरमराएको बताउनुभएको छ । विज्ञप्तिमा उहाँले भन्नुभएको छ, ‘संविधान संशोधनको बहसमा औचित्य पुष्टि हुने गरी सरकारले श्वेतपत्र नै जारी गर्ने अपेक्षा थियो तर उक्त विषय अहिले ओझेलमा पारिएको छ ।’

आम नागरिकमा चरम असन्तुष्टि र उद्यमी व्यवसायीमा निराशा बढेको जनाउँदै विज्ञप्तिमा सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता समेत फितलो हुँदा द्विपक्षीय आर्थिक सम्बन्ध गत्यवरोध हुन थालेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू