अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 03:40

पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा विश्वप्रकाशले मागे प्रधानमन्त्रीको जवाफ

बिआरटीनेपाल २०८१ असोज ३० गते ७:१३ मा प्रकाशित

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कार्यालय भवन राजनीतिक दलहरुले आफैँले नै बनाउनुपर्ने बताउनुभएको छ ।सत्ता साझेदार दल नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनबहादुर गुरुङले गर्नुभएको सहयोगको विरोध गर्नुभएको हो । महामन्त्री शर्माले एक अर्ब रुपैयाँ भन्दा बढी मुद्रा पर्ने जग्गा खरिद गर्ने र भवनसमेत बनाइदिने घोषणा गरिएको विषय चर्चा र विवादमा रहेको भन्दै यसको जवाफ नेकपा एमालेले दिनुपर्ने बताउनुभयो । उहाँले व्यवसायीहरुले राजनीतिक दलहरुलाई सानो सहयोग गर्नेकुरा राम्रो भएपनि एक अर्ब भन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेको उल्लेख गर्नुभयो ।

महामन्त्री शर्माले राजनीतिक दल र निजी क्षेत्रबीचको सम्बन्धको सीमानाका बारेमा सोच्नैपर्ने अवस्था देखिएको बताउनुभयो । उहाँले पार्टी कार्यालय निर्माणका लागि ठूलो रकमको विषय आउँदा स्वभाविक रुपमा एमाले, एमाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी गुरुङले जवाफ दिनुपर्ने दायित्व रहेको बताउनुभयो । प्रधानमन्त्री स्वयं उपस्थित भइ एमालेले जग्गा र भवन पनि बनाइदिने गरी भएको घोषणामा प्रश्न उठेको बताउनुभयो ।

महामन्त्री शर्माले यो प्रश्न नेकपा एमालेलाई मात्रै नभइ राजनीतिप्रति प्रश्न उब्जिएको बताउनुभयो । कस्तो राजनीति र कस्तो राजनीतिक दलहरु बनाउन चाहेको हो भन्ने प्रश्न उठेको बताउनुभयो । आफ्नो दलको कार्यालय आफ्नै पार्टीका नेता-कार्यकर्ता मिलेर बनाउनुपर्ने बताउनुभयो । राजनीतिक दलले पार्टी कार्यालय बनाउँदा पार्टीको परिवारबाट बनाउने कुरा नै बढी अपनत्व हुने उल्लेख गर्नुभयो ।

महामन्त्री शर्माले सबैको मन गाँसेर र साथमा लिएर बनाउन सुझाव दिनुभयो । उहाँले प्रधानमन्त्री ओलीले नागरिक पंक्तिलाई यसबारेमा स्पष्ट पार्न जरुरी रहेको बताउनुभयो । दशैंको नवमीको दिन एमालेको नयाँ केन्द्रिय कार्यालयको शिलान्यास प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । एमालेको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान गर्नुभएका गुरुङले भवन निर्माण गर्ने जिम्मेवारी समेत लिनुभएको छ । पार्टी कार्यालय निर्माणमा व्यवसायीको दान लिएपछि एमालेका नेता÷कार्यकताहरुले नै नेतृत्वको विरोध गरेका छन् । अधिकांशले जग्गा फिर्ता गर्न र आफैँ पार्टी कार्यालय निर्माण गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू