अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 17:08

युरोपेली आयोगले इरानमाथि लगायो प्रतिबन्ध

बिआरटीनेपाल २०८१ असोज २९ गते ७:०१ मा प्रकाशित

युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाएको छ। युरोपेली आयोगका विदेशमन्त्रीले इरान एयरलगायत सात संस्थाहरू र उप(रक्षामन्त्री सैयद हम्जेह घलान्डारी र रिभोलुसनरी गार्ड्स कुद्स फोर्सका वरिष्ठ अधिकारीहरूसहित सात जना व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ।

प्रमुख युरोपेली शक्तिहरू बेलायत, फ्रान्स र जर्मनीले गत महिना रुसमा इरानी क्षेप्यास्त्र हस्तान्तरणलाई लिएर यस्तै प्रतिबन्ध जारी गरेका थिए। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले सम्पूर्ण ब्लकले अपनाएको प्रतिबन्धलाई स्वागत गर्दै भन्नुभयो, ‘युक्रेनविरुद्ध रुसको आक्रामक युद्धलाई इरानी शासनको समर्थन अस्वीकार्य छ र यो बन्द हुनुपर्छ’।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले प्रतिबन्धलाई ‘अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानुन विपरीत’ भन्दै अस्वीकार गर्नुभएको छ। उहाँले रुसलगायत अन्य देशसँग रक्षा र सैन्य सहयोग गर्ने इरानको अपरिहार्य अधिकारलाई पनि जोड दिएको इरानको आधिकारिक समाचार एजेन्सीले जनाएको छ।

इरानको कट्टर प्रतिद्वन्द्वी इजरायलले पनि आयोगको यस कदमको प्रशंसा गरेको छ। त्यसैगरी प्रतिबन्धले रकेट र मिसाइल प्रक्षेपण गर्न प्रयोग हुने प्रणोदक उत्पादनमा संलग्न दुई कम्पनीलाई पनि लक्षित गरेको छ। इरानले भने युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र हस्तान्तरण गरेको पश्चिमी आरोपलाई अस्वीकार गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू