अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

साफ महिला च्याम्पियनसिप आयोजनाको लागत चार करोड

बिआरटीनेपाल २०८१ असोज २९ गते ६:५९ मा प्रकाशित

दक्षिण एसियाली फुटबल महासंघ ९साफ० महिला च्याम्पियनसिप आयोजनाका निम्ति चार करोडभन्दा बढी खर्च हुने भएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ ९एन्फा०ले एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपका निम्ति चार करोड ६० हजार ८०० रुपैयाँ आयोजना लागत रहेको बताएको हो । एन्फाले कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिएको छ । प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका सातै देश माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदै छन् । सहभागी टोलीमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश नेपाल आइसकेको छ भने भारत र भुटानको टिम बुधबारसम्म नेपाल आउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

प्रतियोगिताको तयारीका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा छ । प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली, लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको प्रवक्ता शाहले बताउनुभयो । प्रतियोगिताको समूह चरणका खेलको टिकटदर साधारण पारापिटतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ तोकिएको छ । यस्तै, नकआउट चरणका खेलहरूको टिकटदर साधारण पारापिटतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैयाँ कायम गरिएको प्रवक्ता शाहले जानकारी दिनुभयो ।

च्याम्पियनसिपका लागि दशरथ रंगशालालाई पूर्ण रूपमा तयार पारिएको एन्फाका प्रतियोगिता निर्देशक सञ्जिव मिश्रले बताउनुभयो । “यसअघि एएफसीको प्रतियोगिताअन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीचको खेलका दौरान मैदानमा देखिएको कमजोरीले साफमा पनि त्यस्तै हुन्छ भन्ने धेरैको चासो छ । तर, यसपटक प्रतियोगिताका निम्ति मैदानलाई एन्फाले उत्कृष्ट रूपमा तयार पारेको छ । अब मैदानमा त्यस्तो हुँदैन भन्ने विश्वास छ,” पत्रकार सम्मेलनमा मिश्रले भन्नुभयो । च्याम्पियनसिपमा सहभागी सात टोली दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ ।

यस्तै, दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू