अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

रगतको माग उच्च : मागअनुसार रगत सङ्कलन हुन नसक्दा समस्या

बिआरटीनेपाल २०८१ असोज २९ गते ६:३६ मा प्रकाशित

मागअनुसार रगत सङ्कलन हुन नसकेपछि काठमाण्डौ उपत्यकासहित देशभरका मुख्य शहरमा रगतको अभाव भएको छ । बाढी, पहिरोबाट घाइते भएकाहरू र डेङ्गीलगायत रोगका बिरामी बढेका कारण अहिले अस्पतालमा रगतको माग उच्च छ ।तर यही बेला मुख्य चाडपर्व परेका कारणले रक्तदान गर्ने दाताको सङ्ख्या केही घटेकाले रगतको माग धान्न मुश्किल परेको ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) का अध्यक्ष राजेश श्रेष्ठले उज्यालोलाई बताउनुभयो । रगत खोज्न कतिपय बिरामीका आफन्तलाई हम्मे हम्मे परेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा काठमाण्डौले हप्तामा आठ सयदेखि एक हजार युनिट रगत सङ्कलन गर्ने गरेको थियो । तर दशैँको बिदामा काठमाण्डौ उपत्यकामा मानिसको सङ्ख्या कम भएका कारण रगत सङ्कलनमा समस्या भएको ब्लोदानका अध्यक्ष श्रेष्ठले बताउनुभयो । दैनिक रूपमा तीन सय युटिनसम्म रगतको माग भए पनि अहिले बल्लतल्ल एक सय ८० युनिटसम्म मात्र रगत सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । आजदेखि दशैँ बिदा सकिएकाले अबको केही दिनमा रगतको आपूर्ति सहज हुने सम्बन्धित निकायको विश्वास छ ।

गएको असोज १०, ११ र १२ गते देशभर परेको ठूलो वर्षा र लगत्तै दशैँ पर्व परेकाले रगतको सङ्कलन केही घटेको हो । दशैँका बेला हप्तामा मुश्किलले चार सय युनिट मात्र रगत सङ्कलन हुने गरेको रक्त सञ्चार सेवाले जनाएको छ । डेङ्गी र प्राकृतिक विपद्का कारण माग बढेका बेला रगत कम सङ्कलन भएकाले माग धान्नै नसकिने अवस्था आएको केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा. पवन गुप्ताले उज्यालोलाई बताउनुभयो ।रक्त सञ्चार सेवाले बाढी, पहिरो र डुबानका कारण आफ्ना नियमित क्याम्प पनि सञ्चालन गर्न सकेको थिएन । त्यसमाथि चाडपर्वको बेला विगतमा पनि रगतको अभाव हुने गरेकोमा यसपालि अलि धेरै समस्या भएको हो ।

काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरका अस्पतालमा उपचाररत रगत चाहिने बिरामीका आफन्तलाई रगत जुटाउन निकै समस्या भएको छ । अहिले विभिन्न ठाउँमा रक्तदान कार्यक्रम भइरहेकाले केही दिनमा नै रगत सहज हुने निर्देशक गुप्ता बताउनुहुन्छ । उहाँले रक्तदान गर्न मिल्ने सबै नागरिकलाई रक्तदान गर्न पनि आग्रह गर्नुभएको छ । डा. गुप्ताका अनुसार डेङ्गीका बिरामीलाई ताजा रगत चाहिन्छ । अन्य शल्यक्रिया, सुत्केरीलगायतका बिरामीलाई चाहिने रगतको भने अभाव नरहेको केन्द्रीय रक्त सञ्चार सेवाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू