अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

वाणिज्य बैंकले सेयर धितो कर्जा बढाए, एक महिनामा नबिलले दियो १० अर्ब ७१ करोड

बिआरटीनेपाल २०८१ असोज २८ गते ६:०७ मा प्रकाशित

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १९ वाणिज्य बैंकले ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा (सेयर वा डिबेञ्चर खरिद गर्न) सापट दिएका छन् । सञ्चालनमा २० वाणिज्य बैंक भए पनि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सेयर धितो राखेर कर्जा प्रवाह गरेको छैन । बाँकी १९ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको साउनमा दिएको यो रकम गत आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तुलनामा १२ अर्ब ७९ करोड १० लाख रुपैयाँले बढी हो । सेयर खरिद गर्न गत आर्थिक वर्षको साउनमा ५८ अर्ब ९० करोड २१ लाख रुपैयाँ वाणिज्य बैंकहरूले सापट दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु वर्षको साउनमा सबैभन्दा बढी नबिल बैंकले सेयर तथा डिबेञ्चर खरिद गर्न कर्जा दिएको छ । यो बैंकले साउनमा १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष पनि अरू वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी नबिल बैंकले नै यस्तो कर्जा प्रवाह गरेको थियो । सबैभन्दा कम नेपाल एसबिआई बैंकले सेयर धितो कर्जा प्रवाह गरेको छ । यो बैंकले यस्तो कर्जा साउनमा ४२ करोड ९४ लाख रुपैयाँ प्रवाह गरेको छ । गत वर्षको साउनको तुलनामा यो बैंकले यस्तो कर्जा सर्वाधिक बढाएको छ ।

गत वर्षको साउनमा नेपाल एसबिआईले दुई करोड ३९ लाख रुपैयाँ सेयर धितो कर्जा दिएको थियो । प्रतिशतको हिसाबमा यो बैंकको सबैभन्दा बढी कर्जा विस्तार भएको छ । तर, गत वर्षको तुलनामा ६ वाणिज्य बैंकले सेयर धितो कर्जा घटाएका छन् । यसरी सेयर धितो कर्जा घटाउनेमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, हिमालयन बैंक, एनएमबि बैंक र माछापुच्छ्रे बैंक छन् ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको व्यक्तिगत सीमा १५ करोड रुपैयाँ तोकेको छ । कुनै पनि व्यक्तिले सेयर धितो राखेर कर्जा लिन खोजे १५ करोडभन्दा बढी पाउँदैनन् । तर, संस्थागत लगानीकर्तालाई कायम गरिएको २० करोडको सीमा भने चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत हटाइएको छ । व्यवसायीले व्यवसाय गर्नका लागि सेयर धितो राखेर पनि कर्जा लिनसक्ने व्यवस्था छ । तर, व्यवसाय गर्न सेयर धितो राखेर लिएको कर्जाको विवरण मार्जिन प्रकृतिको कर्जा सापट शीर्षकमा राखिँदैन । सेयर वा डिबेञ्चर खरिद गर्न प्रवाह भएका कर्जालाई मार्जिन प्रकृतिको कर्जा सापटको रूपमा राखिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू