अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

इजरायली सेना पर्खाल भत्काएरै लेबनानको शान्ति सैनिक क्षेत्रमा प्रवेश गर्‍यो

बिआरटीनेपाल २०८१ असोज २८ गते ५:५३ मा प्रकाशित

इजरायली सेना पर्खाल भत्काएरै लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) को क्षेत्रमा प्रवेश गरेको छ । दुई वटा इजरायली ट्याङ्कले दक्षिणी लेबनानमा आफ्नो मुख्य गेट नष्ट गरेर बलपूर्वक प्रवेश गरेको युनिफिलले जनाएको छ ।यसअघि इजरायली सेनाले गोली चलाउँदा शान्ति मिसनका ५ जना सेना घाइते भएपछि ४० वटा देशले आपत्ति जनाएका थिए । तर आपत्तिलाई बेवास्ता गर्दै इजरायली सेना लेबनानको दक्षिणी क्षेत्रमा घुसेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शान्ति मिसनका सैनिकलाई तुरुन्तै दक्षिणी लेबनानबाट अन्तै सार्न चेतावनी दिनुभएको थियो । शान्ति मिसनमा खटिएका सैनिकले हिजबुल्लाहको रक्षा गरेको इजायलको जिकिर छ ।युनिफिलका अनुसार यो उल्लङ्घन संयुक्त राष्ट्रसङ्घीय सेना र स्थानहरुविरुद्ध इजरायली उल्लङ्घनको सबैभन्दा ठूलो हिस्सा हो । आज बिहान पनि इजरायली सेनाले पड्काएको बारुदको धुँवाका कारण केही शान्ति सैनिकको उपचार भइरहेको छ ।

यस्तै संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल)ले  इजरायली रक्षा बल (आईडीएफ) का सैनिकहरूले मेस अल–जबलको दक्षिणपूर्वी गाउँ नजिकै आफ्नो खाद्यान्न ढुवानीलाई पनि रोकिदिएको जनाएको छ । शान्ति सैनिकमाथि जानबुझेर गरिएको कुनै पनि आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानून र सुरक्षा परिषद्को प्रस्तावको गम्भीर उल्लङ्घन हो । इजरायलले अन्तर्राष्ट्रिय सन्धी उल्लङ्घनले गर्दा अमेरिका र बेलायतले कुनै प्रतिक्रिया दिएका छैनन् ।

फ्रान्स, स्पेन, भारत, चीन लगायतका देशले भने विरोध गरेका छन् । हिजबुल्लाहलाई नष्ट गर्ने भन्दै इजरायली सेनाले दुई हप्तादेखि लेबनानमा ठूला हमला गरिरहेको छ । जसमा ५ हजार जना भन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू