अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

दशैँकाे १२औँ दिन : मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी

बिआरटीनेपाल २०८१ असोज २७ गते २०:१२ मा प्रकाशित

दुर्गा पक्ष एवं वडादशैँको १२औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने गरिन्छ । यो क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति भएपछिदेखि भने नवदुर्गाको प्रसाद लगाउने क्रम जारी राखिन्छ । यस वर्ष असोज ३० गते बुधबार अखिल बलि पूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले  जानकारी दिनुभयो ।

निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर सपरिवार हिँड्नेको सडकमा चहलपहल देखिन्छ । सार्वजनिक यातायातमा पनि आफन्तकहाँ टीका तथा जमरा लगाउन हिँडेका र लगाएर आएकाकै बाक्लो उपस्थिति देखिन्छ । यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ । दशैँ मनाउन विगत वर्षभन्दा कम नागरिक काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा चहलपहल बढी देखिएको हो । महाअष्टमी एवं महानवमीका दिन शुक्रबार राजधानीमा चहलपहल कम देखिएको थियो । विजयादशमीपछि भने राजधानी बाहिर गएका पनि फर्कने क्रम बढ्ने भएकाले चहलपहल बढी देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू