पश्चिम र मध्य अफ्रिकी क्षेत्रका १६ वटा देशमा बाढीबाट एक हप्तामा मात्रै १४ सय जना भन्दा धेरैको ज्यान गएको छ । ६६ लाख जना मानिसहरु प्रभावित भएका छन् । संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सबैभन्दा धेरै चाडमा १९ लाख, नाइजरमा १३ लाख, नाइजेरियामा १२ लाख र कङ्गोमा ११ लाख जना मानिस नराम्रोसँग प्रभावित भएको बताएको छ । यी देशमा गएको हप्तामा मात्रै बाढी र पहिरोमा परेर १४ सय जना मानिसको ज्यान गएको छ । नाै लाख ८० हजार जना विस्थापित भएका छन् ।
सयौँ विद्यालय र स्वास्थ्य संस्था क्षतिग्रस्त वा नष्ट भएपछि आधारभूत सामाजिक सेवाहरूमा मानिसहरूको पहुँच गुमेको छ । ओसीएचएका अनुसार सात लाख हेक्टर खेतीयोग्य जमिनमा क्षति भएको छ भने एक लाख २० हजार वटा गाईवस्तु मरेका छन् । यसले गर्दा खाद्य सुरक्षा र पोषण सङ्कटलाई अझ बढाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका कार्यवाहक आपतकालीन राहत संयोजक जोइस मसुयाले यस वर्ष केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषबाट चाड, कङ्गो, नाइजर र नाइजेरियामा सहयोग गर्न ३५ मिलियन अमेरिकी डलर विनियोजन भएको बताउनुभएको छ । तर मानवीय अवस्थाको गिरावट रोक्नको लागि थप रकम आवश्यक रहेको ओसीएचएले बताएको छ ।