अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 06:05

चितवनको सौराहामा टीका र जमरा थाप्दै बाह्य पर्यटक

बिआरटीनेपाल २०८१ असोज २६ गते ७:०० मा प्रकाशित

चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरुले दशैँ मनाएका छन् । नेपालीहरुको महान चाड बडादशैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरुले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दशैँ मनाएका हुन् ।सौराहाको सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरुलाई टीका र जमरा लगाइदिनुभयो । साथै उहाँले पर्यटकको सेवाका लागि दशैँका दिन पनि होटल खुला राखेको बताउनुभयो ।

पालैपालो टीका र जमरा लगाउँदा बाह्य पर्यटकहरु दङ्ग भएका छन् । फ्रान्स, जर्मन र नेदरल्याण्डका गरी २६ जनाले यहाँ दशैँको टीका र जमरा लगाएका हुन् । मोटरसाइकलमा नेपालका विभिन्न ठाउँमा घुम्दै बाह्य पर्यटक दुई दिनअघि मात्र यहाँ आएका थिए ।नेदरल्याण्डस्देखि सौराहा घुम्न आउनुभएका ३६ वर्षीय पर्यटक जोनी राइट यस पटक टीका र जमरासँगै नेपालीहरुको पर्व दशैँ मनाउन पाउँदा  खुशी देखिनु हुन्थ्यो । अर्की बाह्य पर्यटक २४ वर्षीया एरिका पनि निकै हर्षित देखिनुभयो । ‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछुु । ’, उहाँले भन्नुभयो ।

चितवनको सौराहामा यतिबेला पर्यटकीय याम शुरू भइसकेको छ । यहाँ आउने बाह्य पर्यटकलाई हरेक होटलले दशैँ मनाउने परम्परा बनाएका छन् । पछिल्लो दुई दिनयता यहाँ तेस्रो मुलुकका झण्डै ३५ प्रतिशत पर्यटक सौराहा घुम्न आएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले भन्नुभयो । पर्यटकलाई यहाँका वन्यजन्तुले मात्र तान्दैन, दशैँ , तिहारलगायत चाडवाडले पनि आकर्षित गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू