प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्नु भएको छ । उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गर्नुभएको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतका एमालेका नेता/कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यसैबीच उद्यमी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताउनुभयो । एमालेले पार्टी सदस्यहरुको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने तयारी गरेको छ । २०७२ सालको भूकम्पपछि काठमाण्डौ महानगरपालिका–१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका नाै वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो ।अहिले च्यासलमा रहेको पार्टी कार्यालयमा हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउने काम शुरू गरिएको एमालेले जनाएको छ ।