अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनशिपको तयारी पूरा

बिआरटीनेपाल २०८१ असोज २२ गते ७:११ मा प्रकाशित

आउँदो कात्तिक १ गतेदेखि नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनशिप फुटबलको सातौं संस्करणको तयारी पूरा भएको छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज पत्रकार सम्मेलन आयोजना गर्दै तयारी पूरा भएको जनाएको हो । नेपालमा तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । सात वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटान पनि छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । आयोजक नेपालले भने कातिक २ गते भुटानसँग खेल्दै प्रतियोगिता शुरुआत गर्ने छ ।नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ । एन्फाका प्रतियोगिता संयोजक सञ्जीव मिश्रले विदेश लिग खेलिरहेका रेखा पौडेल र सावित्रा भण्डारीले पनि साफ च्याम्पियनशिप खेल्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू