अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

धौलागिरि आरोहण गर्न गएका पाँच रूसी नागरिकको मृत्यु

बिआरटीनेपाल २०८१ असोज २२ गते ६:५२ मा प्रकाशित

धौलागिरि हिमाल पर्वतारोहण गर्न गएका पाँच जना रूसी नागरिकको मृत्यु भएको छ।पर्यटन विभागका निर्देशक राकेश गुरूङका अनुसार मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको शव फेला परेको हो। पाँचै जनाको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको निर्देशक गुरूङले बताउनुभयो । १४ जना रूसी नागरिकको समूह पर्वतारोहणका लागि आएका थिए। उनीहरू २०(२२ दिन अगाडि नै आएर पर्वतारोहणका लागि आएका थिए।

धौलागिरि आरोहणका लागि गएका ८ जना आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए। उनीहरू आइ।ए।एम ट्रेकिङ एजेन्सीमार्फत् आरोहणका लागि गएका थिए। ‘८ जना अस्ति रातिदेखि नै सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन भएपछि हामीले हिजो हेलिकप्टर उडान गर्न खोज्यौं,’ गुरूङले भन्नुभयो, ‘तर मौसमका कारण उडान हुन सकेन।’ सोमबार उडान हुन नसकेपछि मंगलबार बिहानै हेलि एभरेष्टको हेलिकप्टर उद्धारका लागि खटिएको थियो।

बेस क्याममा दुई जना र एक जना क्याम्प वानमा सकुशल भेटिएका थिए। क्याम वानमा भेटिएका ती व्यक्तिको उपचार भइरहेको विभागले जनाएको छ। दुई जना भने काठमाडौं आउने जाने तयारीमा छन्। हेलिकप्टरले उनीहरू तीन जनालाई फेला पारेपछि ७ हजार ६०० मिटर उचाइमा पुग्दा पाँचै जनाको शव फेला पारेको हो। उनीहरूको शवलाई काठमाडौं ल्याउन र रूस पुर्‍याउनेबारे एजेन्सीसँग सम्पर्क र छलफल गर्ने गुरूङले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय म्याग्‍दीका डिएसपी भरत श्रेष्ठका अनुसार पाँचै जनाको शव त्यहीँ छ। शवलाई उद्धार गरी ल्याउन दक्ष जनशक्तिको आवश्यकता रहेको र काठमाडौंबाट प्रयास भइरहेको उहाँले बताउनुभयो । हेलिकप्टरबाट त्यहाँ पुगेर शव फेला पारेपनि फिर्ता भने ल्याउन नसकेको हो। मृतक पाँच जनाको पनि पहिचान भने खुलिसकेको छ। एलेक्सान्द्रा डुशेको, ओलेग कुर्गलोभ, क्रिस्टिकोभ भ्लादिमिर, नोसेन्को मिखाइल र शिपिलेभोज दिमित्रीको शव फेला परेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू