अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

दशहरा पर्वको छैटौँ दिन आज मिथिला क्षेत्रमा ‘बेलनौत’ गरिँदै

बिआरटीनेपाल २०८१ असोज २१ गते २२:०८ मा प्रकाशित

मधेशको प्राचीन मिथिला क्षेत्रमा दशैँलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधिको परम्परा छ ।पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि आयोजन गरिने पुरानो मैथिल परम्परा हो । मिथिला क्षेत्रमा दशहरा अर्थात बडादशैँमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन उघार्न बेलको भेट्नो प्रयोग गरिने परम्परा छ ।

यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर त्यही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ ।

सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारिदिएपछि मात्र देवी प्रतिमा दर्शनका लागि खुला गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू