अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 21:48

इजरायल र लेबनानमा रहेका नेपालीको अवस्थाबारे चनाखो रहन परराष्ट्रमन्त्री राणाको निर्देशन

बिआरटीनेपाल २०८१ असोज २० गते ६:२८ मा प्रकाशित

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन नेपाली दूतावासहरूलाई निर्देशन दिनुभएको छ । लेबनान र इजरायल हेर्ने नेपाली राजदूतहरूसँग ‘भर्चुअल’ बैठक गरेर उहाँले पछिल्लो परिस्थितिका बारेमा जानकारी लिनुभएको थियो ।बैठकमा मन्त्री राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उहाँहरू र उनीहरूका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिनुभएको थियो । नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्ने भएमा त्यसका लागि पनि आवश्यक गृहकार्य गर्न मन्त्री राणाले आग्रह गर्नुभएको छ ।

परराष्ट्रमन्त्री डा. राणाले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका ‘हेल्प डेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीहरूलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिनुभएको थियो ।बैठकमा इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरूलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताउनुभयो । लेबनानमा अहिले  एक हजार दुई सय जना नेपाली रहेका अनुमान गरिएको र धेरैजसो घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको उहाँले बताउनुभयो ।

यस्तै इजरायलका लागि नेपली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका झन्डै चार हजार पाँच सय जना नेपाली सुरक्षित रहेका बताउनुभयो । यस्तै बैठकमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू