अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 10:39

‘एयर होस्टेस’को मागमा मन्त्रीको सहमति, नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडान सुचारु

बिआरटीनेपाल २०८१ असोज १९ गते ५:२० मा प्रकाशित

नेपाल वायुसेवा निगमका क्याबिन क्रु (एयर होस्टेस)का मागमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पहल लिएर व्यवस्थापन पक्षलाई सहमत गराएपछि अवरुद्ध भएका अन्तर्राष्ट्रिय उडान सुचारु भएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत अस्वीकार गर्दै निगम व्यवस्थापनले ४५ वर्ष उमेर पुगेका एयर होस्टेसलाई अवकाश दिन लागेपछि आन्दोलन भएको थियो । शुक्रबारको वार्ता असफल भएपछि रातिको दुबई उडान रद्द हुन पुगेको थियो भने शनिबारका कुनै उडान भएनन् ।

करिब ७ घण्टा लामो वार्तापछि निगमको कर्मचारी विनियमावली संशोधन गरी ४५ वर्षको ठाउँमा ५० वर्ष उमेर हद कायम गर्नेलगायतका सहमति भएको छ । अब निगम व्यवस्थापनले तत्कालै नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा पठाउनेछ । मन्त्री बद्री पाण्डे, सचिव, निगम कार्यकारी अध्यक्षलगायत व्यवस्थापन पक्षका सबै जना वार्तामा थिए । एयर होस्टेसका तर्फबाट अध्यक्ष प्रदा कार्की, प्रजिता कार्की, स्मिता गुभाजूलगायत सहभागी थिए ।

सर्वोच्च अदालतले केही महिनाअघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशको अवहेलना गर्दै ४५ वर्ष पुगेका एयर होस्टेस (क्याविन क्रु) लाई अवकास दिन लागिएको, सेवा सुविधामा भेदभाव भएको भन्दै केही दिनदेखि कर्मचारीबीच असन्तुष्टि छाएको थियो । निगमभित्रका १७२ जना क्याविन अन्यायमा परेको भन्दै केही महिनाअघि न्यायका लागि सर्वोच्चमा पुगेका थिए । सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकता दिँदै कर्मचारीहरूमाथि विभेद रोक्न, मुद्दा हालेकै कारणले पूर्वाग्रह नराखी काम गर्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू