अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

ममताको मुद्दामा नरेशविरुद्ध हामीले थप प्रमाण फेला परेका छौँ – प्रहरी

बिआरटीनेपाल २०८१ असोज १९ गते ५:०७ मा प्रकाशित

ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन् । पेसाले नर्स रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्त ५ मा प्रहरीमा उजुरी दर्ता गराएका थिए । तर, उनीबाहेक अन्यले ममतालाई अन्तिम पटक जुलाई २८ मा देखेका थिए ।प्रहरीले नरेशलाई गत अगस्त २२ मा पक्राउ गरेको थियो । उनी अझै पनि प्रहरी हिरासतमा नै रहेका छन् । न्यायाधीशले नरेश समुदायका लागि ‘खतरा’ रहेको ‘आवश्यक प्रमाण’ भएको भन्दै उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेका थिए ।

उनीमाथि ममताको हत्या गरी शव लुकाएको आरोप लगाइएको छ । यस विषयमा डिसेम्बर ९ देखि सुनुवाइ सुरु हुँदैछ । त्यसअघि आगामी बिहीबार उनी पुनः अदालतमा उपस्थित हुनेछन् । उनका वकिलले पक्राउ पुर्जी खारेज माग गर्दै रिट निवेदन दर्ता गराएका छन् । यही विषयमा अदालतले आफ्नो फैसला सुनाउनेछ ।अमेरिकी सञ्चारमाध्यमका अनुसार रिट निवेदनमा नरेशका वकिल सालेभ बेन अब्राहमले उनलाई कहिले पनि ममता हराएको उजुरी दर्ता गर्न नभनिएको दाबी गरेका छन् । त्यसैले अगस्त २ मा ‘वेल्फेयर चेक’ का क्रममा नरेशले उजुरी दर्ता नचाहेको भन्ने कमनवेल्थको दाबी सही नभएको वकिलको तर्क छ । नरेशलाई पक्राउ गर्न थुप्रै गलत भनाइहरू प्रयोग गरिएको उनले दाबी गरेका छन् ।

उनले आफ्नो निवेदनमा उनले कमनवेल्थकी वकिल एमी एसवर्थलाई मानासस पार्क प्रहरी क्याप्टेन स्टेभन लभिङले पठाएको पत्रको विषयमा जिकिर गरेका छन् । पत्रमा क्याप्टेन लभिङले डिटेक्टिभ भेन्चुरासँग आपराधिक उजुरीको बारेमा छलफल गरेका छन् । पत्रमा ममताको शवलाई घरबाट घसिटेर बाहिर लगेको उल्लेख गरेको विषयलाई नरेशका वकिलले जोड दिएका छन् ।‘गलत भनाई बिना, नरेशविरुद्ध पक्राउ पुर्जी जारी हुने थिएन र उनीविरुद्ध कुनै मुद्दा नै हुने थिएन । उनलाई धरौटीमा रिहा गरिनुपर्छ,’ वकिल अब्राहमले रिट निवेदनमा उल्लेख गरेका छन् ।

यत शुक्रबार, मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोले सञ्चारमाध्यमसँग कुराकानी गर्दै नरेश भट्टविरुद्धको मुद्दा प्रमाणमा आधारित भएको स्पष्ट पारेका थिए । ‘हामीसँग यो विषयमा थप प्रमाणहरू छन् । यतिबेला नरेशका वकिलले हामीलाई शवलाई घरबाट कसरी निकालियो भन्ने विषयमा हामीलाई घेरिरहेका छन् । तर, यो हामीसँग भएका प्रमाणहरूको एक अंश मात्र हो । यो मुद्दामा यस्ता थुप्रै प्रमाणहरू छन्,’ उनले भनेका छन् । यसबारे अनुसन्धान सुरु भएयता एक दर्जनभन्दा बढी सर्च वारेन्ट जारी भएर १० वटा भन्दा बढी स्थानमा ममता हराएको विषयमा खोजी गरिएको पनि उनले जानकारी दिए । ‘हामीले कुकुरको प्रयोग गरेर पनि खोजी गरेका छन्, उनले भनेका छन् , ‘हामीले करिब ३० वटा सर्च वारेन्टका लागि निवेदन दिएका छौँ ।’

उनले यी सर्च वारेन्टहरू दम्पतीको घर, कारको तथ्याङ्क, बैंकबाट आर्थिक अवस्था, फोनको रेकर्ड, जीपीएस लगायत विषयमा भएको बताए । यसमध्ये नरेशको एउटा भिडियो प्रमाण निकै महत्त्वपूर्ण रहेको उनको भनाई छ । ‘नरेश केही स्थानमा भएको भिडियो हाम्रोका लागि निकै सहयोगी बन्यो,’ उनले भने, ‘हामीलाई यस विषयमा थप जानकारी प्राप्त भइरहेको छ । हामीले यहफ विषयमा केन्द्रित भइरहेका छौँ । हामीले थुप्रै जनासँगै सोधपुछ पनि गरेका छौँ । केहीलाई त फेरि बोलाएर पनि सोधपुछ गरिएको छ ।’

उनले विभिन्न स्थानमा खोजी गरे पनि पानीमा भने खोजी हालसम्म नगरिएको बताए । ‘हामीलाई प्राप्त सूचना र नरेशले बयानमा भनेका केही कुराले ममताको शव पानीमा हुनसक्ने पनि आशंका गरिएको छ,’ प्रहरी प्रमुख मारियो लुगोले भने । प्रहरीलाई प्राप्त भएको सूचना र नरेशको जीपीएस लोकेसनलाई त्यसलाई मिलान गर्ने प्रयास पनि गरिएको लुगोको भनाई छ । उनले आगामी दिनमा थप खोजी कार्य गर्ने तयारी भइरहेको जानकारी पनि दिए । ‘केही मानिसहरूले सामाजिक सञ्जालमा ममता अझै जीवित नै रहेको दाबी पनि गरिरहेका छन्,’ लुगोले भने, ‘तर, मलाई लाग्दैन उनी जीवित छन् । त्यसलाई प्रमाणित गर्ने कुनै आधार छैन । यो केसलाई निष्कर्ष पुर्‍याउन हामी प्रयासरत छौँ । हामी ममतालाई न्याय दिन चाहन्छौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू