ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन शुरू भएसँगै शिखर आधार शिविरमा चहलपहल बढेको छ । हिजो मात्रै ६५ जना विदेशी पर्यटक आधार शिविरतर्फ प्रस्थान गरेका घुन्सामा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासी तेन्जिङले जानकारी दिनुभयो ।पर्यटकको आगमनसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । कञ्चनजङ्घा प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटल व्यवसायी पेमा शेर्पाले पर्यटकको चहलपहल बढेसँगै बन्द रहेका होटल खुल्न थालेका बताउनुभयो ।
विराटनगर, धरान, दमकलगायत शहरबाट पनि कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्कअनुसार कञ्चनजङ्घा हिमालको आधार शिविर जाने मार्गमा ५२ वटा होटल सञ्चालनमा छन् । यसैबीच कञ्चनजङ्घा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुङ्गाले लागेर ज्यान गएको छ । फक्ताङलुङ गाउँपालिका– ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुङ्गाले लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका– ५ का टीकाबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।