अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

ग्वाटेमाला सिमानामा नेपालीसहित चढेको ट्रकमा ६ आप्रवासी मारिए

बिआरटीनेपाल २०८१ असोज १७ गते ७:०९ मा प्रकाशित

ग्वाटेमाला सिमानामा मेक्सिकन सैनिकले चलाएको गोली लागेर ६ जना आप्रवासी मारिएका छन् । ग्वाटेमाला सिमाना हुँदै अमेरिका गइरहेका नेपाल, भारत र पाकिस्तानका आप्रवासी चढेको ट्रकबाट मारिएका ती आप्रवासी को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी न्युजसमेतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले बिहीबार समाचार छापेको छ, जहाँ मेक्सिको सरकारको रक्षा विभाग स्रोतलाई हवाला दिइएको छ ।

मेक्सिकोको रक्षा विभागले दिएको सूचना अनुसार दुईवटा अरु सवारीको साथमा आइरहेको ट्रकमा गोलाबारी सुनिएको थियो । मेक्सिकन सैनिकले ती गाडीमा गोली चलाउँदा चारको तत्कालै मृत्यु भएको थियो भने दुई जनाको पछि मृत्यु भएको हो । घटनामा १२ जना घाइते भएका छन् । आप्रवासीहरूले बन्दुकलगायत हतियार बोकेको आशंकामा सैनिकले गोली चलाए पनि गाडीभित्र कुनै हतियार नभेटिएको रिपोर्टमा जनाइएको छ । गाडीभित्र रहेका अरु १७ आप्रवासी भने सुरक्षित छन् ।

ती आप्रवासीमाथि छानबिन चलिरहेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय अखबार हिन्दुस्तान टाइम्सले समाचार छापेको हो । निहत्थामाथि गोली चलाएको पाइएमा सैनिकमाथि समेत कारबाही हुने बताइएको छ । आप्रवासी अधिकारका पैरवीकर्ताले भने सन् २०२१ मा पनि यस्तै अनधिकृत हमलाबाट निहत्था मान्छे मरेको भन्दै सेनाबाट फेरि पनि भयानक गल्ती भएको हुन सक्ने आशंका गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू