अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

कतारका लगानीकर्ताले नेपालमा लगानी गर्न चासो देखाए

बिआरटीनेपाल २०८१ असोज १७ गते ५:४२ मा प्रकाशित

कतारका लगानीकर्ताले नेपालमा लगानीका लागि चासो देखाएका छन् । नेपाल–कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरीय बैठकमा कतार चेम्बर अफ कमर्सका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरू, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा कतारका लगानीकर्ताको रुचि देखिएको बताउनुभएको छ । कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर खोजिरहेका भन्दै थानीले थप लगानीकर्तालाई पनि प्रोत्साहित गर्ने बताउनुभएको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् प्रतिनिधिमण्डलबीच कतारको राजधानी दोहामा सम्पन्न बैठकमा आर्थिक सम्बन्ध विस्तारका विषयमा पनि छलफल भएको छ ।

कतारका अमीर सेख तमीम बिन हमाद अल थानीको गएको अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासङ्घ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । काउन्सिलको पहिलो अध्यक्षस्तरीय बैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ–आफ्नाे नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यसलगत्तै नेपालमा कतार–नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राख्नुभएको छ ।

बैठकमा अध्यक्ष ढकालले नेपालमा बाह्य क्षेत्र स्थायित्व रहेको र कानूनमा गरिएको सुधारले लगानीको अवसर जुटदै गएको बताउनुभयो । साथै उहाँले कतारका लगानीकर्तालाई नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, सीप विकासलगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आह्वान गर्नुभयो । यसैगरी कतार सरकारले आयोजना गरेको एसियन को–अपरेशन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता जनाउनुभएको छ ।

प्रतिक्रिया