अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

शान्ति र सुरक्षाका लागि इजरायलमा मिसाइल आक्रमण गरेको इरानको प्रतिक्रिया

बिआरटीनेपाल २०८१ असोज १६ गते ७:०७ मा प्रकाशित

इरानले आफ्नो क्षेत्रको शान्ति र सुरक्षाको उद्देश्यका साथ इजरायलमा मिसाइल आक्रमण गरेको प्रतिक्रिया दिएको छ । साथै पछिल्लो आक्रमण आफ्नाे क्षमताको केही झलक मात्र रहेको भन्दै इरानसँग बदलाको भावमा प्रस्तुत नहुन इजरायललाई चेतावनीसमेत दिएको छ ।इरानी राष्ट्रपति मसूद पेजेस्कियानले आक्रमणलाई इरानी स्वार्थ र नागरिकको प्रतिरक्षाका लागि इजरायललाई दिइएको एउटा निर्णायक जवाफ भन्नुभएको छ । उहाँले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सम्बोधन गर्दै इरानसँग युद्धको उन्माद नभएको तर जुनसुकै खतराविरुद्ध जोडदार रूपले खडा हुने कुरा इजरायल पक्षले बुझ्नुपर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

हिजो इरानले इजरायलमा मिसाइल प्रहार गरेपछि तेहरानका सडकमा खुशीयाली मनाइएको थियो । उनीहरूले इरान र हिज्बुल्लाहको झण्डा तथा शुक्रवार इजरायलको आक्रमणमा मारिएका हिज्बुल्लाहका पूर्वनेता हसन नस्रल्लाहको तस्बिर बोकेका थिए ।इरानको आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायलप्रति अमेरिकी साथ निरन्तर रहेको कुरा दोहोर्‍याउनुभएको छ । फ्रान्स र जापानले सबै पक्षलाई अवस्था थप चर्काउने काम नगर्न आग्रह गरेका छन् । इरानले इजरायलमा हिजो ठूलो सङ्ख्यामा मिसाइल आक्रमण गरेको हो ।

इजरायली सेनाको दाबीअनुसार इरानले पछिल्लो पटक एक सय ८० वटाभन्दा धेरै मिसाइल प्रहार गरेको छ । तर तीमध्ये धेरैजसो रोक्न सफल भएको सेनाको दाबी छ । ठूलो सङ्ख्यामा मिसाइल आक्रमण भएपछि इजरायलका प्रधानमन्त्री नेतान्याहुले इरानले गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू