अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 15:45

अरुण नदीले चट्टान र माटो खियाउँदा सगरमाथाको उचाइ बढिरहेको वैज्ञानिकहरूको निष्कर्ष

बिआरटीनेपाल २०८१ असोज १५ गते ७:४० मा प्रकाशित

अरुण नदीले आफ्नो पींधमा भएका चट्टान र माटो खियाउँदा सगरमाथाको उचाइ बढिरहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् ।’युनिभर्सिटी कलेज लन्डन’ का अनुसन्धानकर्ताहरूले ‘नेचर जिओसाइअन्स’ जर्नलमा प्रकाशन गरेको शोधका अनुसार अरुण नदीको जलाधार क्षेत्रमा भूक्षय र पींध खिइँदा सगरमाथाको उचाइ हरेक वर्ष २ मिलिमिटरले बढिरहेको छ । ८९ हजार वर्षअघि तिब्बतमा अर्को नदीसँग समाहित भएर शक्तिशाली बनेको अरुण नदीकै कारण त्यसयता सगरमाथाको उचाइ १५ देखि २० मिटर बढेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

हिमाली र पहाडी क्षेत्रका अग्ला भागबाट ठूलो बेगमा बग्दा अरुण नदीले धेरै बालुवा बगाउँछ । धेरै मात्रामा चट्टान र माटो काट्ने अरुण नदी सगरमाथाबाट ७५ किलोमिटर टाढा रहेको छ । नदीले पृथ्वीको बाहिरी भाग खियाउँदा हलुका भएर माथि तैरिँदा उचाइ बढेको शोधमा उल्लेख छ ।

४ देखि ५ करोड वर्षअघि जमिनमुनि भारतीय र युरेशियाली प्लेटहरू जुध्दा हिमालय पर्वतशृङ्खलाको जन्म भएको हो । हिमालहरूको उचाइ निरन्तर बढ्नुको मुख्य कारण ती प्लेटहरूको चाल रहेको बताउँदै आएका वैज्ञानिकहरूले विश्वको सर्वोच्च शिखरको उचाइ बढ्नुमा अरुण नदी प्रणालीको भूमिका महत्त्वपूर्ण रहेको रोचक कुरा बताएका हुन् । अध्ययनमा सहभागी नभएका केही भू–गर्भशास्त्रीहरूले यो सिद्धान्त युक्तिसङ्गत रहे पनि अध्ययनमा भएका धेरै कुरा अझै अस्पष्ट रहेको बताएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू