अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 07:32

जापानको प्रधानमन्त्रीमा शिगेरु इशिबा निर्वाचित, आजै राजाले नियुक्त गरेपछि मन्त्रिपरिषद् विस्तारको तयारी

बिआरटीनेपाल २०८१ असोज १५ गते ७:३८ मा प्रकाशित

शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । उहाँ आज प्रतिनिधिसभामा भएको मतदानबाट निर्वाचित हुनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।गएको हप्ता लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षमा निर्वाचित भएका इशिबालाई सत्तारूढ गठबन्धनसहित अरू केही दलले मत दिएका खबरमा उल्लेख छ । अब उहाँलाई शाही दरबारमा हुने एक भव्य समारोहमा सम्राट नारुहितोले औपचारिक रूपमा नियुक्त गर्नुहुनेछ । त्यसपछि इशिबाले मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ ।

जापानको संसद्काे तल्लो र माथिल्लो दुवै सदनमा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको बहुमत रहेको छ । प्रधानमन्त्री इशिबाले जापानको घट्दो जनसङ्ख्या र कमजोर बन्दै गइरहेको अर्थव्यवस्थासहित धेरै चुनौतीको सामना गर्नुपर्ने खबरमा उल्लेख छ । यस्तै राष्ट्रिय सुरक्षा मोर्चामा चीन, उत्तर कोरिया र रुसबाट बढ्दो खतरा र अर्को महिना अमेरिकामा निर्वाचित हुने नयाँ राष्ट्रपतिसँग सम्झौता गर्ने विषयलाई पनि उहाँको चुनौतीका रूपमा हेरिएको छ ।

इशिबाले यसै महिना तल्लो सदन भङ्ग गर्ने र प्रारम्भिक चुनावको आह्वान गर्ने योजना पनि बनाउनुभएको छ । प्रधानमन्त्री हुनुअघि नै संसद् भङ्ग गर्ने र चुनाव गर्ने योजना सुनाएको भन्दै विपक्षीले उहाँको चर्को आलोचना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू