अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

४४ अङ्कले बढेर शेयर बजार २५ सय विन्दुमाथि, कारोबार रकम भने घट्यो

बिआरटीनेपाल २०८१ असोज १४ गते ६:३४ मा प्रकाशित

हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ४५ अङ्कले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज सीईडीबी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै कुमारी सबल योजना, युनाइटेड मोदी हाइड्रोपावर, सर्वाेत्तम सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन प्रभु सेलेक्ट फन्डको शेयर भने नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि शेयर कारोबार रकम भने घटेको छ । हिजो चार अर्ब रुपैयाँभन्दा धेरैले कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका ९७ लाख १७ हजार कित्ता शेयर तीन अर्ब ७१ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया