अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 18:55

विपत्तिको समयमा पनि प्रधानमन्त्री अमेरिका घुम्दै बसेः रास्वपा

बिआरटीनेपाल २०८१ असोज १३ गते ६:४६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार असंवेदनशील, अकर्मण्य, अक्षम, असफल भएको बताएको छ। देशभर व्याप्त विपद्को परिस्थितिमा नागरिकलाई आपत् पर्दा जिम्मेवार सरकार छ भन्ने कुनै अनुभूति नभएको रास्वपाले ठहर गरेको हो। ‘विगत केही दिनयता देशभर परिरहेको अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक प्रकोपबाट प्रभावित भई जीउधनको क्षति व्यहोर्नु परेका सम्पूर्ण नेपालीहरूप्रति हामी गहिरो दुःख तथा समवेदना प्रकट गर्दछौं। देशभर व्याप्त विपद्को परिस्थितिमा नागरिकलाई आपत् पर्दा जिम्मेवार सरकार छ भन्ने अनुभूत हुने किसिमले उद्धारकार्यमा यथोचित सक्रियता देखाइएको नपाइनाले सरकार आमजनताका जीवनप्रति संवेदनहीन रहेको तथ्य उजागर गरेको छ,’ रास्वपाले भनेको छ, ‘दुई दिनको वर्षातले दुई तिहाईको सरकारको हैसियत देखाइ दिएको छ। यो सरकार असंवेदनशील, अकर्मण्य, अक्षम, असफल सावित भएको छ।’

राज्यमा सरकारबाट नागरिकको अभिभावकीय भूमिकाको अपेक्षा गरिएको हुने बताउँदै राज्य संयन्त्रले विपद्का अवस्थामा तत्काल उद्धार तथा राहतका लागि आवश्यक प्रबन्ध मिलाउनुपर्ने कुरा आधारभूत विषय भएको रास्वपाले बताएको छ। ‘प्राकृतिक प्रकोपको चपेटामा पर्न सक्ने क्षेत्र र सर्वसाधारणको पहिचान गरी उनीहरू सुरक्षा, पुनःस्थापनाका लागि राज्यले यथोचित गृहकार्य र तयारी गर्ने, विपत्तिमा रहेका नागरिकहरुको उद्धारका लागि पुर्वानुमान सहित आवश्यक उद्धार टोलीलाई तयारी अवस्थामा राख्ने, सम्भावित परिस्थितिको विश्लेषण गरी आवश्यक पूर्व तयारी गर्ने, प्राप्त सूचना अनुरुप घटनास्थलमा योजनाबद्ध रुपमा उद्धार टोली परिचालन गरी प्रभावित तथा पीडितको सुरक्षामा सक्रियतासाथ परिचालन गर्ने कार्यहरु राज्य संयन्त्रबाट हुनुपर्दछ। तर मोबाइल सन्देशमार्फत् नागरिकलाई सुरक्षित, सतर्क रहन सचेत गराउने औपचारिकतामा सीमित सरकार जिम्मेवार ढंगले पीडित नागरिकहरुको उद्धारमा सक्रियता प्रदर्शन नगर्नुप्रति रास्वपा खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

आजको विपत्तिको समयमा समेत सरकार प्रमुख (प्रधानमन्त्री केपी शर्मा ओली) अमेरिका घुम्दै बसेको आरोप रास्वपाले लगाएको छ। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका थिए। बाढी पहिरोको त्रासमा रहेका आमसर्वसाधारणको उद्धारमा यथोचित तदारुकताका प्रस्तुत नगर्ने राज्य संयन्त्र जनताका लागि समर्पित रहेको मान्न नसकिने पनि बताएको छ।‘निहत्था नागरिकबाट समाधानको आशा राख्ने स्रोतसाधन सम्पन्न राज्य संयन्त् विलम्ब गरी घटनास्थलमा पुग्ने कुरा कदापि स्वीकार्य हुन सक्दैन। पीडित जनताको यथाशीघ्र उद्धार, राहत तथा पुर्नस्थापनामा सरकारले अपेक्षित भूमिका निर्वाह गर्न जोडदार माग गर्दछौं। आमसर्वसाधारणको जीवन, सम्पत्ति, आवास र वासस्थानको सुरक्षाका लागि सरकारले भौगोलिक वस्तुस्थितिको वैज्ञानिक मूल्यांकन गरी विपद् बिमासम्बन्धी नीतिगत प्रावधान समेत गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउन चाहन्छौं। साथै विपद् व्यवस्थापन तथा उद्धारकार्यमा राज्य संयन्त्रमा अहिले देखिएको गैरजिम्मेवारी आगामी दिनमा नदोहोरियोस् भनी सम्बन्धित निकायहरुलाई सचेत गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ।

यसैबीच कार्यवाहक प्रवक्ता मनिष झाले बैठकपछि पत्रकार सम्मेलन गर्दै दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखाइएको भन्दै टिप्पणी गर्नुभएको छ । ‘दुई तिहाइको सरकार सक्षम र यस्ता विपदहरूसँग लड्छ भन्ने आशा थियो, हर्क, बालेन र कुलमानजस्ता नेताहरूलाई लखेट्न मात्र बनेको रहेछ,’ उहाँले भन्नुभयो, ‘मान्छे मरिसकेपछि मोबाइलमा रिङटोन राखेर राज्य संयन्त्रको भूमिका देखिँदैन। यो गठबन्ध गैरजिम्मेवार भएको देखियो’।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू