अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 19:11

बाढीले निजी क्षेत्रका १८ आयोजनामा १ अर्बको क्षति

बिआरटीनेपाल २०८१ असोज १३ गते ६:२३ मा प्रकाशित

दुई दिन यताको अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले निजी क्षेत्रका १८ भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जनाएको छ ।इप्पानका अध्यक्ष गणेश कार्कीले विगतको भन्दा फरक र ठूलो बाढी आएका कारण आयोजनाहरुमा बढी क्षति भएको बताउनुभयो । उहाँले आयोजनामा बाढीका कारण दुई किसिमको क्षति भएको बताउनुभयो । जलविद्युत आयोजनाको पावर हाउस, हेडवक्स र सामानहरु बगाउनुका साथै सडक पूर्वाधारबाट विच्छेद भएको उहाँले बताउनुभयो ।

अध्यक्ष कार्कीले बाढीका कारण कुनै आयोजनामा धेरै क्षति नभए पनि आयोजना जाने पहुँच मार्ग बन्न ६ महिना लाग्ने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले धेरै जलविद्युत आयोजनाहरु लागत बढ्ने र समयमा सम्पन्न हुन नसक्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले सरकारले विगतमा निजी क्षेत्रलाई दिएका सहुलियतहरुलाई निरन्तरता दिँँदै जलविद्युत व्यवसायीहरुलाई राहत दिन जरुरी रहेको बताउनुभयो । बाढीले मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना, २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना प्रभावित भएको छ । यस्तै, माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना (२१६ मेगावाट)को क्याम्प हाउस र पहुँच मार्गमा क्षति पुगेको छ ।

यस्तै हेवाखोला जलविद्युत आयोजना (१० मेगावाट)को पहुँचमार्गमा क्षति पुगेको छ । सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावाट) पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाइ पुल बगाएको छ । सुपर त्रिशुली जलविद्युत आयोजना ( १०० मेगावाट) को २ वटा स्काभेटर, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको इप्पानले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू